Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार


भोजपुर। भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । राम प्रसाद राई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो ।

त्यस्तै, विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उनको भनाइ रहेको छ । “विद्युत् बल्न थालेपछि दैनिक जीवन सहज बनेको छ”, उनले भने, “पारि भोजपुर सदरमुकाम झलमल्ल हुँदा हाम्रो ठाउँ अँध्यारो हुन्थ्यो । वडाको पहलमा हाम्रो ठाउँमा विद्युत् बल्यो धेरै खुसी लागेको छ ।” विद्युत्ले जीवन गुजारा गर्न सहजता थपिएको स्थानीयवासी रुपमान श्रेष्ठले बताउउदै विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै सूचनाको पहुँचमा जोडिन सहज भएको उनको भनाइ रहेको छ । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै आफ्नै घरमा बसेर देश–विदेशको जानकारी लिने गरेको उनले बताए । “लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ”, उनले भने, “विद्युत् विस्तारपछि इन्टरनेटसँगै रेडियो, टिभीको माध्यमबाट देश–विदेशका सूचना थाहा पाउन सहज भएको छ । वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुसी छौँ ।”

त्यस्तै, भौगोलिकरूपमा विकट रहेका यी स्थानमा लामो समयको मेहनतपछि विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । वडाको कुनै पनि ठाउँमा विद्युत् नपुगेको अवस्थामा वडा केन्द्रसम्म विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ । “हाम्रो वडा भौगोलिकरूपमा निकै विकट छ”, वडाध्यक्ष राईले भने, “विद्युत् नहुदा स्थानीयलाई धेरै नै समस्या छ । अहिले हामीले पहिलो प्राथमिकतामा राखेर विद्युत्को काम अघि बढाएका छौँ । अथक प्रयासपछि दुई स्थानका स्थानीय अहिले विद्युत्को पहुचमा जोडिएका छन् ।” सीमित स्रोतसाधनको अधिकतम् उपयोग गर्दै जनतालाई दिएको बचन पूरा गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । यहाँका सबै घरपरिवारमा आगामी वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्य रहेको उनले बताए । विद्युत् विस्तारका लागि वडाले रु १२ लाख बजेट विनियोजन गरेर तार खरिद गर्ने तयारी गरेको वडाध्यक्ष राईले बताउनुभयो ।

“जनतालाई दिएको बचनअनुसारको काम अघि बढाएको छु”, उनले भने, “कतिपय काम वडाको एक्लो प्रयासले मात्र गर्न पनि सम्भव छैन । बजेट सीमित छ । तर पनि वडाको बजेटसँगै स्थानीयसँग आफैँ श्रमदानमा जोडिएर हालसम्म ४० प्रतिशत बढी जनतालाई विद्युत् बाल्ने वातावरण तयार गरेका छौँ । आगामी वर्षभित्र सबै क्षेत्रमा विद्युत् पुर्याउने मेरो लक्ष्य छ ।” अहिले बाक्चखा र भञ्याङमा विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष राईको भनाइ छ । आगामी माघसम्ममा यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिसक्ने अध्यक्ष राईले जानकारी दिए । उक्त वडा कार्यालयले सडक, कृषि खानेपानी, रोजगारीको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष राईले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक तालिमसँगै पाँच सय दन्तेओखरको बिरुवा वितरण गरेको उनको भनाइ रहेको छ । त्यस्तै, पन्ध्र जनालाई हाउसवायरिङ र २५ महिलालाई सिलाइकटाइसम्बन्धी तालिम दिइएको छ ।

त्यस्तै, किसानलाई व्यावसायिक तरकारी खेती तथा बाख्रापालनसम्बन्धी तालिम दिएको वडा कार्यालयले जनाएको छ भने सो तालिम पाएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको उनको भनाइ छ भने स्थानीयको आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?