Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

एक हजार किसान आफैँ नहर सफा गर्न जुटे


१२ ,मङ्सिर ,टीकापुर । कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।

उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन् । चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उक्त नहर झारजङ्गल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैले नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताए ।

“एघार किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौँ”, अध्यक्ष गिरीले भने, “हजारौँ किसान सहभागी छौँ । यतिखेर गहुँ तथा तोरीखेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ ।”

उनले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको गुनासो गरे । “विधिवतरूपमा विसं २०५८ देखि सञ्चालनमा आएको भुर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एकपटक पनि बजेट आएको छैन”, गिरीले भने, “ किसानका समस्याका बारेमा राजनीतिक दल र जनप्रतिनिधि गम्भीर छैनन् । हजारौँ किसानको खेतीपाती सिँचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेकाले किसान आफै जुटेका हौँ ।”

कुलाअन्तर्गत १२ गाउँ छन् । गाउँको भागअनुसार उनीहरूले कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् । बडघरले गाउँअनुसारको कुलाको क्षेत्रफल छुट्याइदिने गर्छन् । कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता छ ।

“महिला–पुरुष भन्ने कुरा भएन सबै मिलेर कुला सफाइ गर्दैछौँ”, स्थानीय फूलबसिया चौधरीले भने, “कतैबाट सहयोग नभएपछि किसान आफैँ नहर सफा गर्न लागेका छौँ ।”

कुलाप्रति तीनै तहका सरकारले बेवास्ता गरेको जनाउँदै उनीहरू आक्रोशित छन् । “किसानका बारेमा सुन्ने कोही भएनन्”, स्थानीय खैरे विश्वकर्माले भने, “११ किलोमिटर कुलाले गर्ने सिँचाइ र किसानका बारेमा सोच्ने कोही भएनन् । खेतीपातीमै भविष्य खोजेकाहरू कति चिन्तित छन्, नेतृत्वलाई चासो छैन ।”

बडघर किसान सबै मिलेर सिँचाइका लागि चार दिनदेखि कुलो सफा गर्न थालेको भागीराम चौधरी बताए । “कुलामा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर सफा गरेका छौँ”, उनले भने “कुलो सफा गरेपछि नागरिक पनि खुसी छन् । हामी अगुवा पनि खुसी भएका छौँ ।”


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?