Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

जुम्लाको अर्गानिक कोसेली पर्यटकको रोजाइमा


जुम्ला। जुम्लाको अर्गानिक कोसेली यहाँ आउने पर्यटनको रोजाइमा पर्ने गरेको छ । यहाँको मार्सी चामल, स्याउको चुना, फापर तथा कोदोको पिठो आन्तरिक पर्यटनको रोजाइमा पर्ने गरेको सदरमुकाम खलङ्गास्थित रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।

घुम्नका लागि उपयुक्त मानिने यो समयमा मुगु जिल्लामा रहेको रारा ताल पुगेर फर्केका अधिकांश आन्तरिक पर्यटनको मुख्य रोजाइ अर्गानिक सिमीको दालसँगै मार्सी चामलको खाना हुने गरेको यहाँस्थित दौतरी होटलका सञ्चालक पदम महतले जानकारी दिएका छन् । त्यसैगरी रारा घुमेर फर्किदा सदरमुकामबाट २० किलो कोदोलगायत अर्गानिक खाद्यान्न किनेको बुटवलका रमेश केसीले बताउदै कोदोको रोटी, ढिँडो र केक बनाएर खान मिल्नुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले किनेको उनको भनाइ रहेको थियो ।

खलङ्गास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले खोलेको अर्गानिक मिनी मार्केटमा कोदोको पिठो किन्ने आन्तरिक पर्यटकको घुइँचो हुने गरेको मार्केटका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । “दुई वर्षअघिसम्म कोदाको दाना बेच्ने गरेका थियौँ । अहिले किसानसँग पिठो खरिद गरी बेच्ने गरेका छौँ”, उनेले भने, “किसानको घरदैलोमा पुगेर कोदो, फापरको पिठो किनेर ल्याउने गरेका छौँ ।” चन्दननाथ नगरपालिका–८ कोटिलाका धर्मराज बोहोरा कोदो खेती गर्ने किसान हुन् । अधिकांश बारीमा कोदो रोपिएको उनले जनाउँदै करिब ८० किलो पिठो बिचेर रू आठ हजार आम्दानी भएको बताए । उनका अनुसार कोदो र स्याउखेतीबाट आएको आम्दानीले घरखर्च चलेको छ ।

कोदोको पिठो बेचेर छोराछोरीको पढाइ र घरखर्च चलिरहेको तिला गाउँपालिका–१ का किसान शेर रावतले बताए । त्यस्तै, पर्यटकले पिठो लिने गरेकाले बजारको कुनै समस्या नभएको उनको भनाइ थियो । उनका अनुसार जुम्लामा चैत–वैशाखमा कोदो रोपेर असोजमा भित्राइन्छ । यस वर्षमा तीन सय किलो कोदोको पिठो बिक्री भइसकेको चन्दननाथ अर्गानिक मिनी मार्केटले जनाएको छ भने मार्केटले किसानबाट कोदोको पिठो रू एक सयमा किनेर उपभोक्तालाई रू एक सय ५० मा उपलब्ध गराउँदै आएको जनाएको छ ।

त्यस्तै कोदोको अत्यधिक माग भए पनि यसको संरक्षणमा यहाँका स्थानीय तहले कुनै नीति तथा कार्यक्रममा चासो नदिएको तिला गाउँपालिकाका स्थानीयवासी नौशेर रावतले बताए । नेपालको पहाड र तराई दुवै क्षेत्रमा कोदोको खेती हुने गरेको छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?