हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । विवाहमा गोत्रविचार अत्यन्त महत्त्वपूर्ण कुरा हो । सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन् । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान–दरसन्तान हामी हौं । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् ।
यसरी उनीहरूको पारिवारिक सम्बन्ध हुन्छ । हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ । सत्पुरुष वा विद्वान् नभएको कुल र क्षयरोग, मिर्गीरोग तथा कुष्ठरोग लागेको कुलमा आफ्नो सन्तानलाई बिहे गराउनु हुँदैन । जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री–पुरुष भाइबहिनी हुन्, उनीहरूका बीच विवाह हुनु हाडनाता करणी हो ।
कुन गोत्रको सँग विवाह गर्ने भन्ने विषयमा फरक मान्यता छन् । तीन गोत्र छोडेर विवाह गर्नुपर्छ — आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र । सगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ । केही नयाँपन हुन्न तिनीहरूको । महान् सन्त ओशोले पनि विवाह जति टाढाको गोत्रसँग हुन सक्यो त्यति राम्रो हुने बताउनुभएको छ । यस्ता दम्पतीको सन्तान गुणी र प्रभावशाली हुन्छन् । (केही दिनअघि मैले एउटा पुस्तकमा पढेर यो अनुच्छेद सारेको रहेछु, तर कुन पुस्तक हो भन्नेचाहिँ बिर्सिएँ ।)
प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार