Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गतिलो आम्दानी बन्दै बाख्रापालन व्यवसाय


८ ,मङ्सिर ,कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन् । चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् ।

मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् । डेढ दशकदेखि विष्टले परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् ।

उनका गोठमा जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा रहेका छन् । वार्षिकरूपमा बाख्रापालन गरी रु पाँच लाखदेखि रु सात लाखसम्म उनको आम्दानी हुने गरेको छ ।

गएको दसैँ र तिहारमा मात्रै उनले रु तीन लाख २८ हजारका खसीबोका बिक्री गरेका छन् । यी जातका खसीबोका ६५ किलोदेखि ७० किलोसम्मको हुने गरेको उनले जानकारी दिए ।

जिउँदो खसी रु पाँच सय ५० प्रतिकिलोका दरले गोठबाटै काठमाडौँ, नेपालगञ्जलगायत क्षेत्रका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । “कोरोना महामारीअघि खसीबोकाको बजार निकै राम्रो थियो, आम्दानी चाहेजस्तै हुन्थ्यो”, उनले भने, “कोरोना महामारी फैलिएपछि र त्यसपछिको समय खसीबोकाको व्यापार नहुँदा थोरै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भयो, अहिले विस्तारै पुरानै अवस्थमा व्यवसाय फर्किन थालेपछि सहज भएको छ ।”

किसान विष्टले बाख्रापालनकै कमाइबाट बेदकोट नगरपालिकाको दैजीमा घरघरेडी जोड्नुभएको छ । निगालीमा डेढ बिघा जग्गा खरिद गरी खेती गर्दै आएका छन । बाख्रापालनसम्बन्धी तालिम नलिएका विष्टले पुरानै तरिकाले बनाइने खोरमा बाख्रा राख्दै आएका छन् ।

बाख्रालाई रोगव्याधि लागे, चोटपटक लाग्यो भने उपचार भने आफैँले गर्दै आएका छन् । भेटेरेनरी प्राविधिकसँगको सङ्गतले उपचार गर्न सक्षम भएको उनको भनाइ छ । “चुरे क्षेत्रमा चरनको राम्रो व्यवस्था भएकाले डेढ दशकदेखि बाख्रा चराउने काम गर्दै आएका छौँ”, उनले भने, “चरन क्षेत्रमा केही वर्षयतादेखि पहिरो जान थालेपछि बाख्रापालन सङ्कटमा पर्न थालेको छ ।”

चुरे क्षेत्रमा भइरहेको वन विनाशसँगै ढुङ्गा, गिट्टीलगायतको दोहन रोक्नुपर्ने उहाँले बताउनुभयो । “चुरे क्षेत्र जोगिएमात्रै बाख्रापालन गर्न सकिने हो”, उनले भने, “यसलाई जोगाउन सबैको हातेमालो आवश्यक छ ।”

विष्टजस्तै निगाली गाउँका १५ बढी परिवारको जीविका चलाउने आधार बाख्रापालन नै रहेको छ । परम्परागतरूपमा बाख्रपालन गर्दै आएका परिवारसँग कम्तीमा ५० देखि बढीमा दुई सयसम्म बाख्रपालन गरिएका छन् ।

बाख्रापालनमा लागेका परिवारको वार्षिक कमाई रु पाँच लाख बढी हुने गरेको छ । बाख्रापालन व्यवसायमा लागेका देव बोहराले स्थानीय तहले खोर व्यवस्थापन, घाँसखेती, औषधोपचारको तालिम दिएर सक्षम बनाउनुपर्ने बताए ।

“बाख्रापालनमा लागेका व्यवसायीलाई सहुलियत दरमा ऋणसँगै अनुदानको व्यवस्था गरिनुपर्छ”, उनले भने, “वर्षौँदेखिका चरन क्षेत्रमा बाख्रा चराउनका लागि सहज वातावरण कायम गरिनुपर्छ ।” व्यवसायीले हालसम्म सरकारी तवरबाट सञ्चालन हुने कार्यक्रममा नसमेटिएको जनाउँदै गुनासो पोखेका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?