Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम


७ ,मङ्सिर ,जाजरकोट । जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन् ।

प्रहरी नायव महानिरीक्षक ढकालका अनुसार जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार र कालीकोटमा दुई प्रहरी भवनमा क्षति पुगेको छ । जाजरकोटमा जिल्ला प्रहरी कार्यालयका चार भवन भत्किएका छन् । बाह्र इलाका प्रहरी कार्यालय, १० प्रहरी चौकी, ६ अस्थायी प्रहरी पोस्ट र जिल्ला ट्राफिक कार्यालय भूकम्पबाट भत्किएको छ ।

रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय, दुई इलाका प्रहरी कार्यालय, चार प्रहरी चौकी र पाँच अस्थायी प्रहरी पोस्ट भत्किएका छन् । त्यस्तै सल्यानमा तीन इलाका प्रहरी कार्यालय भत्किएका छन् ।

जुम्लामा जिल्ला प्रहरी कार्यालय, एउटा इलाका प्रहरी कार्यालय र दुई प्रहरी चौकी भत्किएको छ । कालीकोटमा जिल्ला प्रहरी कार्यालय र एउटा प्रहरी चौकी भत्किएको छ ।

भाडाको घरमा रहेको जाजरकोट भेरी नगरपालिका–१ अस्थायी प्रहरी पोस्ट, रावतगाउँ चर्किएको छ । त्यहाँका प्रहरी अहिले त्रिपालको भरमा दैनिक कामकाज गरिरहेका छन् । सदरमुकाम खलङ्गामा रहेको जिल्ला प्रहरी कार्यालयको हालत पनि अन्य प्रहरीचौकीभन्दा फरक छैन । जिल्ला प्रहरी कार्यालय प्रहरी जवान त्रिपालको भरमा छन् ।

प्रहरी नायव उपरिक्षक सन्तोष रोकाका अनुसार जिल्ला प्रहरी कार्यालयका आठमध्ये सात भवन चर्किएर बस्न नहुने भएका छन् । भर्खरै बनेको एउटा पक्की भवन मात्र बस्न लायक छ । जाजरकोटमा जिल्ला प्रहरी कार्यालय, २०३४ सालमा स्थापना भएको हो ।

भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पनि प्रहरीको पुराना संरचना भत्किएर जीर्ण बनेको प्रहरी नायब उपरीक्षक नवराज भट्टराई बताउछन् । पुर्तिमकाँडा, सोलावाङ र सिम्ली चौकी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अस्थायी प्रहरी पोस्ट साँख, स्यालाखदी, प्रहरीचौकी, पीपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीको संरचनामा पनि आंशिक क्षति पुगेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको निवास पनि भूकम्पले भत्काएको छ । जिल्ला प्रशासन कार्यालयका पुराना संरचना बस्न नहुने भएका छन् । डिआइजी ढकाल प्रदेशभर तीन सय आठ प्रहरी युनिट रहे पनि २५ प्रतिशत एकाइको मात्रै आफ्नो भवन रहेको बताउछन् । पचहत्तर प्रतिशत सबै जोखिममा रहेका र भाडामा लिएका घर रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?