Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

संस्कृति जोगाउन दलित समुदाय अग्रसर


३० ,कात्तिक ,रामपुर (पाल्पा) । देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ ।

तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका–३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ ।

ढोलक, बाजा, झुर्मा, ट्याम्को, नरसिंहा, विकुल, सहनाइलगायतका विभिन्न वाद्यवादनसहित देउसीभैलोका नाममा अहिले भित्रिएको विकृतिलाई रोक्न सामूहिकरूपमा देउसीभैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विक बताउछन् ।

“अहिले देउसीभैलोको मौलिकपन नै भेटिदैन, संस्कृतिमा पूरै विकृति भित्रिएको छ, पुराना संस्कार, संस्कृति मौलिकरूपमा मनाइनुपर्छ, यस अभियानमा हामी सामूहिकरूपमा जुटेका छौँ”, उनले भने ।

समाजले गत वर्ष रु एक लाख ६० हजारको विभिन्न वाद्यवादनका सामग्री खरिद गरेको अध्यक्ष विकले बताउनुभयो । नयाँ पुस्तामाझ देउसीभैलोको मौलिक परम्परा नै मेटिसकेको र आधुनिकताले समाजमा विकृति ल्याएको बताउनुहुन्छ, समाजका ज्येष्ठ सदस्य मोहनबहादुर विक ।

उहाँले पहिला–पहिलाको देउसीभैलोको तुलनामा हिजोआज धेरै फरक रहेको बताउनुभयो । आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकामा उहाँ चिन्तित हुनुहुन्छ ।

बालबालिका, युवा, उमेर ढल्कदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसीभैलोमा गाउँ–गाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरभेटीले खुसी हुँदै दानदक्षिणा दिने गरेको युवा मनु विक बताउछन् ।

देउसीभैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा लगाउने उनले बताए । नयाँपुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिकरूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ ।

मौलिक बाजाको तालमा देउसीभैलो समूह घर–घरमा आउँदा स्थानीय पनि दङ्ग छन् । मेमोरीकार्ड, क्यासेट गीत, युट्युबबाट हिन्दी, रिमिक्स, पप, आधुनिक, लोकगीतमा देउसीभैलो खेल्नेको जमात बढ्दो छ । मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसीभैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ ।

देउसीभैलोबाट चाडपर्व मनाउने नाममा विकृति विसङ्गति भित्रिन नदिन दलित मुक्ति समाजले गरेको यस कार्यलाई सबैले सकारात्मकरूपमा लिएका छन् । समाजमा ८० घरपरिवार दलित समुदायमात्र आबद्ध छन् । आफ्नो समाजभित्र हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको समाजले जनाएको छ ।

हिजोआज खैँजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसीभैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन । कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो । पश्चिमा संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसीभैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ ।

बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । उज्यालै उज्यालैको पर्वका रूपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो । चाडपर्वमा पहिलेजसो मौलिकपनको सट्टा नयाँपन दिन खोज्दा पुरानो इतिहास नै मेटिन पुगेको बूढापाका बताउँछन् ।


प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?