Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

रामायण भवन प्रयोगविहीन


३० ,कात्तिक ,तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । रु दुई करोड ५० लाखमा निर्माण गरिएको प्रयोगमा नआउँदा ताला लगाइएको छ ।

भानुभक्तसम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसार गर्नेलगायतका उद्देश्यका साथ भवन निर्माण गरे पनि प्रयोगमा आउन नसकेको हो ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले रामायण भवन निर्माण गरे पनि यसको संरक्षणतर्फ ध्यान पुग्न सकेको छैन ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, स्थानीय निकाय र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्मस्थलप्रति बेवास्ता गरेको स्थानीय बासिन्दा सन्देश आचार्यले बताए ।

पछिल्ला समयमा भवनका सामान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र स्थानीय बासिन्दाले गफ गर्ने स्थलका रूपमा प्रयोग भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो ।

करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्तकालय, शौचालय, पोखरीलगायत संरचना निर्माण गर्ने गुरुयोजना भए पनि हाल अलपत्र अवस्थामा छ ।

उक्त गुरुयोजनाका लागि अनुमानित लागत रु १६ करोड रहेको छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको एक सय फिट अग्लो सालिक निर्माणलगायत योजना छ । जुन उद्देश्यले रामायण भवन निर्माण गरिएको हो, सोअनुरुप प्रयोगमा नआई अलपत्र अवस्थामा देखिँदा दुःख लागेको भानु नगरपालिका–५ सेपाबगैँचाका भरत पोख्रेलले बताए ।

कलात्मक बुँदा कुँदेर बनाइएको काठलाई धमिराले खान थालेको देख्दा दुःख लागेको छ”, उनले भने, “यसको उचित संरक्षणका लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।”

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साविक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले भवन संरक्षणका लागि प्रहरी चौकी राख्न माग गरे पनि सुनुवाइ नभएको बताए ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रूपमा भानुभक्त जन्मिएका थिए । उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बिजारोपण गरेका थिए ।

भानुभक्तका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधुशिक्षा’, ‘रामगीता’लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । भानुभक्तको १९२५ असोज ६ गते चुँदीरम्घामा निधन भएको थियो ।


प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?