Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

धादिङबेँसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल


मलेखु,धादिङ। धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो । चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक बल्ल तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी भएका छन् । सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताएका छन् । त्यस्तै रुविभ्यालीको सबैभन्दा अग्लो स्थान तीन हजार आठ सय ५० मिटर उचाइमा पर्ने पाङसाङ प्रवेशद्वारसम्म अहिले सडक सुविधा पुगेको छ भने विकट बस्ती लब्दुङबाट पुरुसम्म मोटर पुगिसकेको छ भने लापासम्म पुग्ने सडक भने खन्ने प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए । धादिङको सदरमुकाम धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पास निस्किएर रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ भने तीन हजार आठ सय ५० मिटर उचाइमा खनिएको यो सडक जिल्लाकै सबैभन्दा उच्च स्थानमा खनिएको पहिलो सडक हो ।

धादिङ र रसुवाको सिमाना सोम्दाङबाट तिप्लिङसम्म २८ किलोमिटर सडक विभाग, गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाको रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । सदरमुकाम धादिङबेँसीबाट ७० किलोमिटर सडक भने नेपाल सरकारको लगानीमा खनिएको रुविभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले जानकारी दिएका छन् । उनले सडक पुगेपछि आवतजावतमा त सहज भएको छ नै विकास निर्माणका कामका लागि निर्माण सामग्री ढुवानीमा समेत सजिलो भएको बताएका छन् । त्यस्तै मोटर चल्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीय तीनदेखि चार दिनको पैदल हिँडेर धादिङसम्म आउनुपर्ने बाध्यता रहेकामा अब भने सो बाध्यता हट्ने र एकै दिनमा धादिङको सदरमुकाम आइपुग्न सकिनेछ । पशुपालन र जडीबुटी उत्पादनका लागि राम्रो मानिएको तिप्लिङमा सडक पुगेसँगै अब विकासको लहर आएको आभास स्थानीयले गरेका छन् ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?