Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै


११ ,कात्तिक ,महोत्तरी । कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ ।

पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो । यो विधि कोजाग्रत रातमा गरिने परम्परा छ ।

सामान्यतया आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलाहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमाउन’ भन्ने गरिएको छ ।

यस अवसरमा दुलही पक्षका आफन्तले दुलहाका लागि वस्त्रआभूषण र मिष्ठान्न परिकार भेट गर्ने (उपहार दिने) पुरानो परम्परा रहेको पाका मैथिल बताउँछन् ।

कोजाग्रत पूर्णिमा दोषरहित र शुभ दिन मानिँदै आइएकाले पहिलो पटक घरजम सुरु गरेकी छोरी÷चेलीका परिवारजनप्रति अहोभाव दर्शाउन यो दिन रोजिएको हुनसक्ने मैथिली लोकपरम्पराका जानकारको भनाइ छ ।

दुर्गा पूजन सकिएलगत्तै दसैं पर्वको कोसेली पुर्याउन र पर्वविशेषको भेटघाट गर्न पनि यो परम्परा चलाइएको हुनसक्ने संस्कृतिविद् जलेश्वर–६ का बासिन्दा पूर्वप्रशासक महेश्वर रायको भनाइ छ ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण र कायस्थ जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमाउन’ विधि पछिल्ला केही वर्षयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ ।

दुलही पक्षका आफन्तले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभुषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउन पर्ने दुलाहा पक्षको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउछन् ।

भेटका लागि वस्त्र आभूषण, मिष्ठान्न परिकार, दही, मखान (तलाउको पानीमा फल्ने मिथिलाको एक फल विशेष) र फलफूलसहितका पचासभन्दा बढी भार (सोली) लिएर दुलही पक्षका आफन्त दुलहा घर पुग्छन् ।

दुलही पक्षका आफन्तको लामो लावालस्करले विवाहकै झझल्को दिने र असाध्यै खर्चिलो हुने गरेबाट अब यो विधि टार्न गरिबलाई धौधौ पर्ने गरेको मैथिल ब्राह्मण नै बताउँछन् ।

विगतमा एक बिडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको परम्परा थेग्न अब भने घरखेत बेच्नपर्ने सम्मको स्थिति आएको भङ्गाहा–३ का ७० वर्षीय मैथिल ब्राह्मण चन्द्रकान्त झा बताउछन् ।

पिता, पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शन जस्तै बनेको हुँदा अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् ।


प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?