Trending
>>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै


११ ,कात्तिक ,महोत्तरी । कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ ।

पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो । यो विधि कोजाग्रत रातमा गरिने परम्परा छ ।

सामान्यतया आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलाहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमाउन’ भन्ने गरिएको छ ।

यस अवसरमा दुलही पक्षका आफन्तले दुलहाका लागि वस्त्रआभूषण र मिष्ठान्न परिकार भेट गर्ने (उपहार दिने) पुरानो परम्परा रहेको पाका मैथिल बताउँछन् ।

कोजाग्रत पूर्णिमा दोषरहित र शुभ दिन मानिँदै आइएकाले पहिलो पटक घरजम सुरु गरेकी छोरी÷चेलीका परिवारजनप्रति अहोभाव दर्शाउन यो दिन रोजिएको हुनसक्ने मैथिली लोकपरम्पराका जानकारको भनाइ छ ।

दुर्गा पूजन सकिएलगत्तै दसैं पर्वको कोसेली पुर्याउन र पर्वविशेषको भेटघाट गर्न पनि यो परम्परा चलाइएको हुनसक्ने संस्कृतिविद् जलेश्वर–६ का बासिन्दा पूर्वप्रशासक महेश्वर रायको भनाइ छ ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण र कायस्थ जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमाउन’ विधि पछिल्ला केही वर्षयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ ।

दुलही पक्षका आफन्तले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभुषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउन पर्ने दुलाहा पक्षको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउछन् ।

भेटका लागि वस्त्र आभूषण, मिष्ठान्न परिकार, दही, मखान (तलाउको पानीमा फल्ने मिथिलाको एक फल विशेष) र फलफूलसहितका पचासभन्दा बढी भार (सोली) लिएर दुलही पक्षका आफन्त दुलहा घर पुग्छन् ।

दुलही पक्षका आफन्तको लामो लावालस्करले विवाहकै झझल्को दिने र असाध्यै खर्चिलो हुने गरेबाट अब यो विधि टार्न गरिबलाई धौधौ पर्ने गरेको मैथिल ब्राह्मण नै बताउँछन् ।

विगतमा एक बिडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको परम्परा थेग्न अब भने घरखेत बेच्नपर्ने सम्मको स्थिति आएको भङ्गाहा–३ का ७० वर्षीय मैथिल ब्राह्मण चन्द्रकान्त झा बताउछन् ।

पिता, पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शन जस्तै बनेको हुँदा अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् ।


प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?