Trending
>>   दुर्गा प्रसाईंले गरे पार्टी खोल्ने घोषणा >>   पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने गलत भाष्यहरु निर्माण गरियो : देउवा >>   वैकल्पिक विकास वित्तसम्बन्धि विधेयकः सरकारले कस्तो बेला लगानी रोक्का गर्नसक्छ ? >>   संघीय निजामति सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षितः सांसद रिजाल >>   मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट >>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

पढ्दै सिक्दै कार्यक्रमः ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’


बेनी ।  म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थालेकी छन् । विद्यालयमा पढाइ नहुने खाली समयमा उनले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लागएकी हुन् । उनीमात्रै नभएर यस विद्यालयको कक्षा १० का २५ विद्यार्थी अहिले पाठ्यपुस्तक बाहिरको सिकाइका सिलसिलामा मुढा बुन्ने सीप सिक्न थालेका छन् । विद्यालय र स्थानीय शुभकामना कृषि सहकारी संस्थाको साझेदारीमा विद्यालयले कक्षा १० का विद्यार्थीलाई पढ्दै सिक्दै कार्यक्रम सञ्चालन गरेको विद्यालयका शिक्षक खोमराज पौडेलले जानकारी दिए । शुक्रबार र अन्य दिनमा दिउँसो खाजा खाने समय र विषयगत पठनपाठन नहुने समयमा विद्यार्थीलाई मुढा बुनाइको तालिम समेत दिने गरिएको उनले बताए ।

असोज १९ गतेबाट सुरु भएको विद्यार्थीको मुढा बुनाइ तालिम करिब दुई सातासम्म सञ्चालन हुने र स्थानीयस्तरमा पाइने बाँसको सिन्कासमेत विद्यार्थी आफैँले तयार गरेका हुन् । विद्यालयले मुढामा प्रयोग गरिने रसीको बन्दोबस्त गरेपछि मुढा बुन्दै आएका स्थानीय नेत्रलाल गोतामेलाई प्रशिक्षक र विद्यालयकै शिक्षक गोविन्द पौडेललाई सहप्रशिक्षक तोकेर मुढा बुन्ने तालिम सञ्चालन भइरहेको छ । एउटा मुढा बुन्न १४ देखि १८ इन्चका ९० देखि एक सय १० वटासम्म सिन्का प्रयोग हुने गरेको विद्यार्थी बताउँछन् । विद्यालयमा सिकेको सीपलाई घरायसी प्रयोगमा समेत उपयोग गर्ने उनीहरूको तयारी छ । मुढा बुन्ने तालिमबाट सीप सिकेका विद्यार्थीबाट फुर्सदको समयमा नियमित मुढा बुन्ने र त्यसलाई विद्यालयमार्फत बिक्री गरेर विद्यालयको बाल क्लबका लागि आम्दानी गर्ने लक्ष्यसमेत बनाएको बाल क्लबका अध्यक्ष कृति सुवेदीले बताए । विद्यालयले यसअघि गत वर्ष कक्षा ९ का विद्यार्थीलाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरेको थियो । उक्त तालिम फलदायी बनेपछि कक्षा १० का विद्यार्थीलाई समेत सीपमूलक कार्यक्रमअन्तर्गत मुढा बुनाइ तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिए ।

यो वर्षसमेत नगरपालिकाबाट रु एक लाख बजेट विनियोजन भएको र सो बजेटबाट विद्यालयमा कम्प्युटर मर्मत तालिम सञ्चालन गर्ने तयारी गरिएको समेत उनले बताए । विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजबाट खानाका परिकार बनाउने तालिम दिने तयारी गरेको विद्यालयले आगामी हिउँदयाममा छात्रा विद्यार्थीलाई लक्षित गरेर परालबाट गुन्द्री बुनाइ तालिम दिने
समेत योजना बनाएको छ ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?