Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

दिप्रुङ चुइचुम्माद्वारा निःशुल्क यातायात सेवा बन्द


२२ ,असोज ,खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ । आर्थिक वर्ष २०७४/०७५ देखि सो गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा सुरुआत गरेको थियो ।

लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा बन्द गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको खुलेको छ”, उनले भने, “लक्षित वर्गको नाममा परिवारका अन्य सदस्यले पनि गाउँपालिकाले दिएको सुविधा लिएको पाइएका कारण उक्त सुविधा नै हटाइएको हो ।”

गाउँपालिकाको कार्यालय र खोटाङ यातायात प्रालिबीचमा भएको सम्झौताअनुसार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सोही परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचयपत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको गाउँपालिकाले जनाएको छ ।

तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राई नेतृत्वको स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि निःशुल्क यातायात सेवा सुरु गरेको थियो । गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात उल्लेख भएको परिचयपत्रको व्यवस्था गर्ने, निःशुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रालिलाई मासिकरुपमा भुक्तानी दिने, सम्झौता वार्षिकरुपमा नवीकरण गर्ने लगायतका सहमति भएको थियो ।

यस्तै, साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक तथा (क) र (ख) वर्गको परिचयपत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको पाइएको छ । साकेला गाउँपालिकाका तत्कालीन प्रमुख अर्जुन खड्का ‘झङ्कार’को पालामा आर्थिक वर्ष २०७६/०७७ देखि ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई सडक यात्रामा शतप्रतिशत छुट दिने गरिएको थियो ।

चालु आर्थिक वर्ष भने ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिएका छन् । यातायात प्रालिले सम्झौता नवीकरणका लागि गत चैत २२ गते प्रतिनिधि सुन्दर तामाङलाई गाउँपालिका पठाइए पनि नवीकरण नभएको जनाएको छ ।

यद्यपि, गाउँपालिका प्रमुख रविप्रकाश राईले भने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाले निरन्तरता पाइरहेको बताएका छन् । उक्त गाउँपालिकामा पनि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उपलव्ध गराइएको सेवा अन्य व्यक्तिले लिइरहेको पाइएको छ ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?