Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

अनुगमनका क्रममा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत


१० ,असोज ,जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार क्षेत्र (पुरानो बसपार्क) का केही मासु पसलबाट मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने र कानूनले खान अयोग्य भनिएका रङ प्रयोग गरिएको मासु जफत गरिएको छ ।

आज भएको संयुक्त बजार अनुगमनका क्रममा खसीको मासुको छालामा चम्पाइरङ दलेको पाइएपछि दुई वटा पसलबाट २७ केजी मासु बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका प्रतिनिधि प्रमोद बुढाथोकीले जानकारी दिए ।

उनले बरामद गरिएको मासु प्रयोगशाला परीक्षणका लागि गुण नियन्त्रण कार्यालयमा लगिएको समेत बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा सञ्जीवकुमार ठाकुरले मासु राम्रो देखाउने नाममा कानूनले खान अयोग्य भनेका रङहरू छालामा दल्नु गैरकानूनी भएकाले माछा बजार क्षेत्रबाट २७ किलो मासु जफत गरिएको जानकारी दिए ।

“कानूनले भनेका अन्य मापदण्ड पालना नगर्ने समस्या त छँदैछ । मासु राम्रो देखाउने नाममा स्वास्थ्यको दृष्टिकोणले हानिकारक रङसमेत प्रयोग गरेको पाइयो । यस्तो रङ दलिएको मासु खानाले मिर्गौला, फोक्सोमा असर गर्नुका साथै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रोगहरूको सङ्क्रमण हुन्छ । त्यसैकारण हामीले सो मासु जफत गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएका छौँ”, डा ठाकुरले भने ।

जनकपुरधाम उपमहानगरपालिकाका वडा नंं २, ४ र १४ मा रहेका १४ वटा मासु पसलको अनुगमनका क्रममा पाँच वटा पसल दर्ता नभएकाले सञ्चालकलाई सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न, सबैजसो पसललाई फोहर व्यवस्थापनसहित मापदण्ड पूरा गर्न, मूल्यसूची राख्नेलगायत कैफियत देखिएका विषयको व्यवस्थापन गर्न समय तोकेरै निर्देशन दिइएको पशु चिकित्सक ललितकुमार लालले बताए ।

उनले सरसफाइमा तत्काल सुधार गर्नका लागि व्यवसायीहरूलाई निर्देशन दिनुका साथै अर्को पटक अनुगमनका बेला सरसफाइ नभए र अन्य निर्देशन पालना नगरेको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको बताए ।

त्यसैगरी अनुगमन टोलीले जनकपुरधाम–१४ स्थित माँ जानकी डेरीबाट दूध, दही, खुवा र घ्यू प्रयोगशाला परीक्षणका लागि नमूना सङ्कलन गरेर पठाइएको र डेरीलाई पनि ऐन नियममा भएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका नायब सुब्बा नरेश यादवले जानकारी दिए ।

जनकपुरधाममा माछा, मासु बजारको व्यवस्थापन र अनुगमन नहुँदा आम उपभोक्ताले स्वास्थ्यका लागि जोखिमपूर्ण तथा गुणस्तरहीन मासु खानुपरेको गुनासो भइरहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले पशु वधशालाको अभाव देखाएर मासु व्यवसायीहरूले एकै ठाउँमा मासु काट्ने र बेच्ने काम गर्नुका साथै प्रयोग हुने हातहतियार, पानी, अचानो, पसलको सरसफाइमा ध्यान नदिने गरेको बताए ।

“यहाँको मासु बजारमा मुख्य गरी सरसफाइ र मासुको छालामा रङ दल्ने समस्या देखिन्छ । बेसार दल्नुलाई सामान्य मानिए पनि हानिकारक चम्पाइरङ दल्ने काम गरिरहनुभएको छ”, खनालले भने, “उपभोक्ताले मन पराउँछन् भनेर चम्पाइरङलगायतका रसायन दल्ने, सीसा र जालीभित्र मासु नराख्ने, उपभोक्ताले किन्दैनन् भनेर फ्रिजको प्रयोग नगर्ने समस्या छ । यसमा व्यवसायी र उपभोक्ता दुवै सचेत हुन जरुरी छ ।”


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?