Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

तीज पर्वको मौलिकता गुम्दै, विकृति मौलाउँदै


३० भदाै, म्याग्दी । हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।

तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा ।
तीजको लहर आयो बरीलै ।

केही वर्षअघिसम्म हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासू–ससुरा र श्रीमान्को खटनले मन लागेका बेलामा माइत जान नपाइएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । तर पछिल्लो समय यो चलन र गीत हराउँदै गएका छन् ।

तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले बताइन् । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको उनको गुनासो छ ।

उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भनिन्, “म सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु । आजभोलि तीजका गीत सुन्दा तीजका हुन् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।”

विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजु, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उपाध्यायले अनुभव सुनाउनुभयो । “आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिकीको चाडजस्तो लाग्छ”, उनले भनिन् ।

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन, पुरानो पुस्तादेखि नयाँ पिँढीका महिला पनि चिन्तित छन् । बेनी मङ्गलाघाटकी अमृतदेवी बानियाँले पनि चाडपर्वका नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गरिन्। महिला अधिकारकर्मीसमेत रहेकी बानियाँले भनिन्, “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।”

महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्यले पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् । “चाडपर्व, संस्कृति र पहिचानलाई बचाइ राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उनले भनिन् ।

परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ । मालिका–७ देविस्थानकी इन्द्रमती फगामीले तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताइन् । उनका अनुसार विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ ।

“तीज आउनु एक महिनाअघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो । आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउँथे”, फगामीले भनिन्, “अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।”

त्यस्तै, डम्मराकी प्रिया कार्कीले नेपाली नारीहरुका लागि तीज पर्वको महत्व धेरै रहेको बताउदै यो पर्व मनाउँदा महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने बताइन्। तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने उनको भनाइ थियो ।

“आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन्”, कार्कीले भनिन्, “विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।”

तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको ज्यामरुककोट बगरफाँटकी शिव घिमिरेले बताइन् ।

“आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्यौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिने भन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिकी गर्नु हुँदैन”, उनले भनिन् । पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने उनको भनाइ थियो ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?