Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

दलितले उत्पादन गरेको दूध पनि बिक्दैन


२९ भदाै, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आएका छन् । उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् । सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बिक्री नहुँदा निराश बनेका छन् । गाउँमै दुग्ध सहकारी भए पनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेको उनीहरुको गुनासो छ ।

दूध बिक्री नभएपछि दलित समुदायका किसानले घीउ बनाउँदै आएको चन्द्रबहादुरले बताए । दैनिक १० लिटर दूध उत्पादन गर्ने गरेको बताउँदै उनले बिक्री नहुँदा घर खर्च चलाउन गाह्रो हुने गरेको उल्लेख गरे । चन्द्रबहादुरले छिमेकीले दूध बेचेर वार्षिक लाखौँ कमाउने गरे पनि आफूहरुको दूध बिक्री नहुँदा आम्दानी गर्न नसकेको दुखेसो पोखे । जातीय छुवाछूत र विभेदकै कारण आफूहरुले उत्पादन गरेको दूध बिक्री नभएको उनको भनाइ थियो ।

“दलित समुदायले उत्पादन गरेको दूध बिक्री नहुँदा धेरैलाई दुःखी बनाएको छ, गाउँबाट दिनदिनै अरुले उत्पादन गरेको सयौँ लिटर दूध बिक्री हुन्छ”, विकले भने, “यहाँ हामी सात घर परिवार छौँ । सबैले ५–१० लिटर दुध दैनिक उत्पादन गर्छन् । उत्पादन भएको आधा दूध बिक्री भए पनि छोराछोरीलाई कापी कलमको खर्च हुन्थ्यो । नुन, चामल खाने पैसा हुन्थ्यो, हाम्रो समस्या कसलाई सुनाउने ?”

गाउँमा आफूहरुले उत्पादन गरेको दूध अरूको सँग मिसाउँदा गाडी दुर्घटना हुन्छ भन्ने गरेको उनले सुनाए । दलित समुदायलाई भेदभाव गरेर सहकारी र स्थानीयवासीले दूध नकिन्ने उनको भनाइ थियो । दूध बिक्री नभएपछि अचेल भैँसीपालन पनि कम गर्न थालेको विकले बताए । चन्द्रबहादुर जस्तै बागलुङमा धेरै दलित समुदायका घरपरिवारले उत्पादन गरेका दूध बिक्री हुँदैन । जिल्लामा सञ्चालित दुग्ध सहकारीमा बारम्बार दूध मिसाउनका लागि आवाज उठाउँदा सुनुवाइ नभएको दलित किसानको भनाइ थियो ।

दलितहरुले उत्पादन गरेको तरकारी, फलफूल, बाख्रा, कुखुरा लगायतका वस्तुहरु बिक्री हुने गरे पनि दूध बिक्री गर्न मुस्किल पर्ने निसीखोलाका पूर्णबहादुर परियारले बताए । सरकारले डेढ दशकअगाडि छुवाछूतमुक्त मुलुक घोषणा गरे पनि अहिलेसम्म दलित समुदायले निकै विभेद खेप्दै आएको उनको गुनासो छ । दूध उत्पादक सहकारी सङ्घ बागलुङका अध्यक्ष दीपकराज गौतमले गाउँ–गाउँबाट सहकारीले सङ्कलन गरेर ल्याएको दूध आफूहरुले बिक्री विदरण गर्दै आएको बताए । गाउँबाट सहकारी संस्थाहरुले क–कसको दूध ल्याउँछन् भन्ने जानकारी नभएको भन्दै सबै समुदायको दूध आफूहरुले बिक्री गर्दै आएको उनको भनाइ थियो ।

दूध उत्पादन, प्रशोेधन र बजारीकरण गर्दै आएको सङ्घले कसैलाई विभेद नगर्ने अध्यक्ष गौतमले बताए । उनका अनुसार दुग्ध उत्पादक सङ्घमा हाल १४ दुग्ध सहकारी संस्था आबद्ध रहेका छन् । दैनिक दुई हजार पाँच सय लिटर दूध बिक्री वितरण हुने गरेको र सङ्घमा झन्डै एक हजार पाँच सय कृषक आबद्ध रहेको गौतमले जानकारी दिए । सहकारीले अहिले काठेखोला गाउँपालिका, बागलुङ र जैमिनी नगरपालिकाका कृषकले उत्पादन गरेको दूध सङ्कलन गर्ने गरेको उनले बताए । अध्यक्ष गौतमका अनुसार मासिक ६० देखि ८० लाखको कारोबार गर्ने गरेको छ ।

बिक्री नभएको दूधबाट दही, पनिर, छुर्पी लगायतका परिकार बनाई बिक्री वितरण गर्ने गरेको उनको भनाइ छ । अध्यक्ष गौतम भने, “हामीले सबैको दूध राख्छौँ, गाउँ–गाउँका सहकारी संस्थाले क–कसको दूध ल्याउँछन्, त्यो हामीलाई थाहा हुँदैन, हाम्रो सहकारी सङ्घमा आबद्ध भएका जनसुकै किसानको दूध हामीले ल्याउँछौँ, बजारका उपभोक्ताले माग गरेको सबै ठाउँमा पु¥याउँछौँ, बिक्री वितरण गरेर बाँकी रहेको दूधलाई प्रशोधन गरेर विभिन्न परिकार बनाउने गरेका छौँ ।” बागलुङमा सबैभन्दा बढी दूध उत्पादन काठेखोला गाउँपालिकाका साथै बागलुङ र जैमिनी नगरपालिकामा हुने गरेको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?