Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री प्रचण्ड


२९ भदौ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संसद्को रुलिङका सम्बन्धमा धारणा राख्दै उनले दलहरुबीच यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

“अवैध सुन तस्करीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । सहमतिअनुसार आयोग बनाउने प्रक्रिया बढेको छ”, उनले भने ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक हमलालाई सरकारले गम्भीर रुपमा लिएको जनाउँदै आक्रमणकारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने बताए । “यसप्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध छ”, उनले भने ।

प्रधानमन्त्री दाहालले कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा समयमै उपचार नपाएर बालिकाको मृत्यु भएको घटनामा दोषी देखिएमा कारबाहीको दायरामा ल्याइने बताए । उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास दिलाए ।

यही भदौ १८ गते बेलुकी उपचारका लागि पुगेकी मकवानपुर स्थायी ठेगाना भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिसा गोपालीको आकस्मिक कक्षमा समयमै उपचार नपाएर मृत्यु भएको थियो । घटना सार्वजनिक भएलगत्तै अस्पतालबाट पाँच दिनको समयावधि प्रदान गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएकामा समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको उनले सदनलाई जानकारी गराए ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?