Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

तरकारी खेतीबाट २५ लाख बढी आम्दानी


२५ भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख बढी आम्दानी गर्दै आएका छन् ।

डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन् । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए । “केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै दुई लाख बढीको बिक्री भएको छ”, उनले भने, “वर्षमा १० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ ।” उत्पादित तरकारी महेन्द्रनगर बजार पुर्‍याएर बेच्दै आएको उनले बताए ।

खड्का वडाका एक्ला व्यावसायिक तरकारीखेती गर्ने किसानका रुपमा रहेका छन् । तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरुका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए। त्यसरी सिकेको सीपलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो ।

“कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन”, खड्काले भने, “गर्दै जाँदा सिकिँदोरहेछ । तालिम नलिए पनि तरकारी खेतीमा अरुभन्दा कम छैन । यसैबाट जीविकोपार्जन भइरहेको छ ।”

किसान परियोजना–२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले जानकारी दिए । “तरकारी खेतीका लागि अन्य अनुदान पाइन्छ भन्छन् त्यो पनि पाएको छैन, आफ्नै सीप र पौरखमा तरकारी खेतीलाई अगाडि बढाउँदै आएका छौँ”, उनले भने ।

तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घरसमेत बनाएको बताए। “छोरा, बुहारी, म र श्रीमती बिहानदेखि साँझसम्म तरकारी बारीमा काम गरिरहेको हुन्छौँ”, उनले भने, “खेतीमा सिँचाइ गर्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्ता हुन्छौँ ।”

तरकारीखेती गर्नु अघि खड्काले स्वामित्वको जग्गामा अरु किसानले झैँ धान, गहुँ खेती लगाउने गर्थे । परिवारका लागि वर्षभरि खान पनि मुश्किलले पुग्ने गर्दथ्यो । घर खर्च चलाउनका लागि रु १५ लाखसम्म ऋण लागेको उनले सुनाए ।

“सुरुआतमा एक कट्ठा जग्गामा तरकारीखेती गर्‍यौँ । २५ हजार आम्दानी भयो, धान, गहुँभन्दा निकै आम्दानी हुने भएपछि तरकारी खेतीको क्षेत्रफल बढाउँदै लग्यौँ”, खड्काले भने, “आम्दानी बढ्दै गयो, घर खर्च चलाउन लिइएको ऋण तिर्न भ्यायौँ ।” केही वर्षदेखि जग्गा भाडामा लिएर तरकारीखेती गर्न थालेपछि आम्दानी थप बढ्न थालेको उनको भनाइ थियो ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?