Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’


२२ भदौ, धादिङ । गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए ।

जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए । मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए । त्यही ढ्याङ्ग्रो ठोकेर फलाक्नेमध्येका एक हुन धादिङ गजुरी गाउँपालिका–५ बरभञ्ज्याङका राजकुमार चेपाङ ।

नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ उनीहरुको मुख्य पर्व पनि हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो ।

पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वका रूपमा परिचित यो पर्वमा आफ्ना कूलभरिमा मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ ।

“नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ”, झाँक्री राजकुमार चेपाङले भने, “नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कूल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ ।”

चेपाङ समुदायले आफ्नो प्रमुख चाडका रूपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन् । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ ।

“पितृ नबुझाई र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ”, नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले भने, “यो पर्वमा झाँक्री बसेर रातभर सिमेभुमे फलाकेरमात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो ।”

छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन् । ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ । चेपाङले न्वागी पर्वलाई ‘पान्देइ घ्यासा’ चाड पनि भन्छन् । भेला भएर ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरूले वारनाको रूपमा मनाउने नेपाल चेपाङ सङ्घका केन्द्रीय सचिव एवं धादिङको गजुरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुरेन्द्र चेपाङले बताए ।

वारनामा कोही चेपाङ काममा निस्कँदैनन् । यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा गए राति (बिहीबार) रातभर ढ्याङ्ग्रोमा फलाकेर आज (शुक्रबार) बिहान न्वागी पूजा गर्ने चलन छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?