Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

धान बालीमा सेतो पुतलीको समस्या, किसान चिन्तित


२१ भदाै, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली(झिँगा)को समस्या बढ्न थालेको छ ।

धान बालीमा सेतो पुतलीको समस्या बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको समस्या बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकास शाखा प्रमुख शिवनारायण कुमालले बताए।

‘वडा नं ७ देखि १७ सम्मका धान बालीमा पुतलीको समस्या दैनिकरूपमा बढिरहेको छ’ उनले भने, ‘सावित्री र हाइब्रिड जातका धानमा धेरै क्षति भएको पाएका छौँ ।’

धान बालीमा सेतो पुतलीको समस्या देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको छ । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधि सिकाइएको शाखा प्रमुख कुमालले बताएका छन् । सेतो पुतलीका कारण धानको पात पहेँलिने समस्या कावासोती र गैँडाकोट नगरपालिकामा जटिलरूपमा फैलिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए ।

‘जिल्लाका आठवटा पालिकामध्ये कावासोती र गैँडाकोटको धान बालीमा पुतली र ढुसीको समस्या फैलिँदो रहेको पाएका छौँ’, उनले भने। जिल्लामा अहिले सुरुवाती चरणमा रहे पनि दिन प्रतिदिन धान बालीमा क्षति फैलिँदो रहेको प्रमुख लामिछानेले बताए। यसवर्ष नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । जिल्लामा यो वर्ष ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिए पनि पछिल्लो समस्याले उत्पादन घट्न सक्नेमा उनको चिन्ता थियो ।

‘यी पुतली प्रायजसो पातको पछाडिपट्टिको सतहमा बस्दछन्’ प्रमुख लामिछानेले भने ‘यो कीराको वृद्धि विकास र क्षति प्राय गरेर चिसो मौसमभन्दा गर्मी मौसममा बढी देखिन्छ । सेतो पुतलीको वयस्कले एकै पटक एक सय ५० वटासम्म सेतो रंका फुल पार्छ। यसको बच्चा अन्डाबाट निस्केपछि एकदेखि तीन हप्तासम्म पातमा टाँसिएर बस्ने गर्दछ ।’

नेपालमा मुख्यतया गोलभेँडा, काँक्रो, भण्टालगायत तरकारी बालीमा यस्तो कीराको समस्या देखिए पनि पछिल्लो समय धानमा समेत व्यापक रूपमा क्षति पुर्‍याउन थालेको उनले बताए । यो कीरा वयस्क हुँदा एक मिलिमिटरभन्दा सानो, शरीर हल्का पहेँलो सेतो तथा पखेटा सेतो देखिन्छ । सङ्क्रमित बिरुवा चलाउँदा सेता स–साना कीरा उडेको देख्न सकिने र वयस्कले रोगी बिरुवाबाट भाइरसजन्य रोग स्वास्थ्य बिरुवामा सार्नुका साथै एउटै गाँजमा हजारौँको सङ्ख्यामा यसको सङ्क्रमण भएको समेत देखिने प्रमुख लामिछानेले जानकारी दिए ।

‘यो पुतलीको बच्चा र वयस्क दुवै हजारौँ सङ्ख्यामा रही धानका कलिला पातको रस चुसेर बिरुवालाई कमजोर बनाउँदछ’,उनले भने ‘बच्चा अवस्थामा यसले गुलियो पदार्थ उत्पादन गर्छ र यसमा कालो ढुसी विकास हुन गई पातको सतह छोप्दा पातमा प्रकाश संश्लेषण प्रक्रिया अवरुद्ध हुन पुग्दछ ।’


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?