Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु : प्रधानमन्त्री दाहाल


१६,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताए ।

“जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न सरकारले कदम चालेको छ, राहदानी, सवारी चालक अनुमतिपत्र, विदेशमा दुःख पाउने परिस्थितिबाट नेपाली नागरिकलाई सहयोग गरिएको छ”, उनले भने ।

उनले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालन गरिएको बताए ।

“अहिले विदेशमा रहेका तीन लाख बढी श्रमिक यो योजनामा समावेश भएका छन्, यो छिट्टै २५ लाखको आसपास पुग्ने अवस्था छ”, उनले भने, “विदेशमा गएका मात्र होइन, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न थालेका छौँ, यसले ५० लाख नेपाली कोषमा आबद्ध हुने ढोका खुलेको छ ।”

नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीको सेटिङ भत्काउने, मिटरब्याजबाट पीडित किसानलाई मुक्त गर्ने अभियानको थालनी भएको छ ।

“वर्तमान गठबन्धन सरकारसँग एकाथरि मान्छे अत्तालिएका छन्, यो अभियानले फेरि माओवादी २०६४ सालमा फर्कने भयो, शक्तिशाली पार्टी हुने भयो भन्ने आशङ्का छ”, उनले भने, “माओवादीलाई देश र जनताको पक्षमा काम गर्न नदिन ठूलो षड्यन्त्र भइरहेको छ, देश र राज्यलाई शुद्धीकरण गर्ने, बेथिति र फोहरलाई सफा गर्ने अभियान रोकिँदैन ।”

उनले आफूले सरकारको नेतृत्व गरिन्जेलसम्म देश र जनताको पक्षमा काम गरिरहने दृढता व्यक्त गरे । “म जति दिन प्रधानमन्त्री रहन्छु राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु”, उनले भने ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कमीकमजोरी औँल्याउँदै जनताका बीचमा आएको उल्लेख गर्दै अब माओवादीले नै आफूलाई रुपान्तरण गर्नुपर्ने बताए ।

“अभियानका क्रममा मात्र होइन, अब माओवादी जनताभन्दा टाढा बसेर दिन बिताउने छैन, जनताको साथमा, घरघरमा पुग्नेछौँ”, उनले भने, “प्राप्त उपलब्धिका बारेमा जनतालाई प्रशिक्षित गर्दै सुझाव लिनेछौँ ।”


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?