Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

हुम्लामा साउने पूर्णिमाको रौनक


१५ भदाै, सिमकोट । जनै पूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमा जिल्लाका विभिन्न शक्तिपीठमा धुमधामका साथ मनाइएको छ ।

यहाँका बासिन्दा दसैँ र तिहारभन्दा विशेष महत्वका साथ साउन पूर्णिमा पर्वलाई मनाउने गर्दछन् । जिल्लाका हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्य कहलिएको यो पर्वमा युवा युवतीका लागि भने विशेष दिन रहने गरेको छ । मिठो खाने र नयाँ कपडाको साथमा सजिने चाडका रूपमा यो पर्व चिनिने गरेको छ ।

हुम्लाको सिमकोट गाउँपालिकामा अझ यो पर्व बढी धुमधामका साथ मान्ने चलन छ । जिल्लाका अन्य तीर्थस्थलमा भने चतुर्थी र पूर्णिमाका दिनमा मात्र मनाउने यो पर्व सिमकोटमा त्रियादशीका दिनदेखि एक हप्तासम्म मनाउने चलन छ ।

नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ । नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेष गरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाच्ने) गरेको पाइएको छ । शक्तिपिठमा धामीले आफ्नो शक्ति प्रदर्शन गर्नका लागि कोही धामीले दूध ओकल्ने, जमरा उमार्ने, तातो तेल पिउनेलगायतका अद्भूत कार्यसमेत देखाउने प्रचलन छ ।

जिल्लाका सात वटै स्थानीय तहबाट सिमकोटमा मेला भर्नेको हजारौँ सङ्ख्यामा उपस्थिति रहने गरेको छ । दिउँसो स्थानीय मन्दिरमा गई खसी, बोका चढाइ पूजाआजा गर्ने र अपराह्नतिर सिमकोटका विभिन्न मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको सिमकोट डाँडाफयाका वीरमान सिंहले बताए । युवायुवतीले डेउडा खेलेर आफ्ना मनका बह र माया पिरती साट्ने गरेको सिंहले बताए ।

उनका अनुसार डेउडा खेल्दा खेल्दै गीतको माध्यमबाट मायाको भाव गीतबाट नै व्यक्त गरी कति युवा विवाहको बन्धनमा पनि बाँधिने गरेका छन् । हिन्दूको चाड भएको भएपनि यो पर्व मनाउनका लागि बौद्ध धर्मावलम्बीले पनि सौहाद्रता स्वरुप समर्थन गर्ने गर्दछन् ।

विशेष गरी आन्तरिक र बाह्य पर्यटकका लागि यो पर्वले विशेष महत्व राख्ने गरेको पाइएको छ । स्थानीय पसलमा पनि लाखौँको कारोबार हुने गरेको छ । नयाँ कपडा, दैनिक उपभोग्य वस्तुलगायत सामान यो समयमा निक्कै बिक्री हुने गरेको छ ।

स्थानीय व्यापारीलाई सामान बेचबिखनका लागि भ्याइनभ्याइ नै हुने गरेको छ । वर्षमा दशैँ र तिहारमा देशका अन्य भागमा व्यापारिक चहलपहल निक्कै बढ्ने गरेको भए पनि हुम्लामा भने साउने पूर्णिमा मेलामा व्यापारिक चहलपहल हुने गरेको छ । यही मौका पारेर स्थानीय व्यापारीले नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी गरेर जहाज रिजर्व गर्ने गरेका छन् । यो मेलामा सुनका गरगहनादेखि लिएर कपडासम्मको व्यापार व्यवसाय राम्रो हुने गरेको छ । यो पर्वलाई अदानचुली गाउँपालिकाको खौला मन्दिर, सर्केगाड गाउँपालिकाको रोडिकोट र राहदेवको महादेवको मन्दिर, सिमकोटको मुग्राधारा मन्दिर, तल्लो बजारमा रहेको बाडपाल मन्दिर, ठेहे गाउँको रामपाल मन्दिरलगायत अन्य गाउँका सबैजसो शक्तिपीठमा धुमधामका साथमा मनाउने प्रचलन रहेको छ ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?