Trending
>>   पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे विधान महाधिवेशनमा छलफल गर्न हुँदैनः शंकर पोखरेल >>   बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छः सांसद तामाङ >>   जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग >>   सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयोः सांसद ढकाल >>   मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया >>   वागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाइ लगाइयो लम्पी स्किन विरुद्धको खोप >>   ‘निजी क्षेत्र तर्साउने गरी वन नियमावली ल्याउँदै सरकार’ >>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु
Logo
१७ भाद्र २०८२, बुधबार
१७ भाद्र २०८२, बुधबार

केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो


१३ ,भाद्र ,भजनी (कैलाली) । कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो ।

पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ ।

कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ ।

प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।

छलफलका क्रममा कार्यदलका संयोजक कृषि वैज्ञानिक डा रामबहादुर खड्काले किसानलाई हतोत्साहित नभएर सावधानी अपनाउन आग्रह गरे ।

उनले पानामा रोगको सङ्क्रमण अन्य बारीमा फैलिन नदिन किसान सचेत हुनुपर्ने बताए ।

“हामीले नमूना लिएर परीक्षण गरेका बारीमा पुग्दा स्थिति डरलाग्दो छ । त्यहाँ ६०/६५ प्रतिशत बिरुवामा सङ्क्रमण फैलिएको छ”, डा खड्का भन्छन्, “रोग फैलिएको क्षेत्रमा नष्ट गर्नु राम्रो हुन्छ भने अन्य क्षेत्रमा विशेष सावधानी आवश्यक छ । अन्य क्षेत्रको स्थलगत अवलोकन गर्दा सङ्क्रमण फैलिएको पाइएको छ ।”

माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ ।

कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा सङ्कलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे ।

“रोगको सङ्क्रमण पुष्टि भइसकेपछि हतोत्साहित नभएर रेखदेख गर्नुपर्छ । बारी बाहिरको सामग्री बारीमा नलिने र भित्रको सामग्री बाहिर नलिने व्यवस्था मिलाउन सक्नुपर्छ”, उनले भने, “विशेषगरी सवारीसाधन र पानीबाट बढी जोखिम भएका कारण बारीमा सवारीसाधनमा रोक लगाउन जरुरी छ ।”

कार्यदलले गरेको अध्ययनले अधिकांश केरा बारीमा रोगको सङ्क्रमण फैलिएको देखाएको छ ।

कतिपय ठाउँमा केरामा लक्षण नदेखिए पनि माटोबाट सरेको जीवाणुको लक्षण देखिन छ महिनासम्म लाग्ने बताइएको छ ।

बिरुवाबाट तीन–चार महिनामै लक्षण देखिने गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र जोशीले किसान आफै जिम्मेवार हुनुपर्ने बताए ।

उनले किसानले आफ्नो बारीको निगरानी बढाउनुपर्ने र स्थानीय सरकारले किसानसँगको समन्वय बढाउनुपर्नेमा जोड दिए ।

कैलाली केरा उत्पादक सङ्घका अध्यक्ष दीपेन्द्र थारूले रोगको सङ्क्रमण देखिएपछि किसान सचेत भएको बताए ।

“विगतमा पनि प्राकृतिक विपत्तिका कारण ठूलो नोक्सानी व्यहोर्दै आएका छौँ । अब यस रोगले केरा किसान विस्थापित हुने अवस्था छ”, उनि भन्छन, “केरा नष्ट गर्न तयार छौँ । हामी केरा व्यवसाय छाडेर अर्को गर्न तयार छौँ, राज्यले विकल्प खोजिदिनुपर्यो ।”

पानामा रोगको सङ्क्रमण देखिएपछि टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसको ल्याबमा परीक्षणका लागि नमूना पठाउन कार्यदलले किसानलाई सुझाव दिएको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?