Trending
>>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा >>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा : प्रधानमन्त्री


१२ ,भाद्र ,लुम्बिनी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा गठनले मुलुकमा नयाँ संवाद सुरु भएको बताउएका छन् ।

उनले परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा बनेको पनि बताए । समाजवादी मोर्चाले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मोर्चा गठनको अवस्थामा आउँदा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको बताए ।

“मोर्चाभन्दा बाहिर रहेका शक्तिले जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्टाउन खोज्दैछन्”, उनले भने, “प्रतिक्रियावादी जातीय द्वन्द्व भड्काउने, जनताले लडेर ल्याएको व्यवस्थालाई भड्काएर बदनाम, अपमानित गर्ने, लडाउने प्रयत्न गर्दैछन् ।”

उनले जनयुद्धको नेतृत्व, जनताको बहुदलीय जनवादको नेतृत्व र मधेसमा आन्दोलनको लहर चलाएका शक्ति समाजवादी मोर्चामा एकीकृत भएर नयाँ क्रान्तिको तयारीमा रहेकोसमेत बताए ।

प्रधानमन्त्री दाहालले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको संयोजन समाजवादी मोर्चा भएको बताए ।

“मोर्चामा आबद्ध दलहरुका साझा अनुभव साझा सम्पत्ति हुन”, उनले भने, “तिनलाई एकीकृत गर्नुपर्छ, यस्ता विषयलाई गम्भीरता साथ आत्मसात् गर्न अनुरोध गर्दछु ।”

सरकारले सुशासनका पक्षमा काम गर्दा जनतामा केही हुन्छ कि भन्ने उत्साह बढेको छ बताउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागेको र मित्रराष्ट्रसँग पनि गहनरूपले छलफल भइरहेको बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘एमसीसी’मार्फत राखेका अनुचित स्वार्थ पूरा गर्न नसकिने बताए ।

उनले एमसीसीमा केही त्यस्ता अनुचित स्वार्थका विषय र सर्त भए नेपाली जनतालाई स्पष्ट पार्न प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।

उनले नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन नसक्ने बताउँदै संसद्मा १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसीसीको अङ्ग घोषणा गरेर पास गरिएको स्पष्ट पारे ।

“नेपालको भूमिमा नेपालको अधिकार छ । अरुको अधिकार स्वीकार्न सक्दैनौँ”, उनले भने, “नेपालको कानुनभन्दा अरुको कानुनमाथि हुनुहुँदैन, सत्ता जोगाउन कसैसँग अनुचित सहमति गरिनुहुँदैन ।”

नेकपा एस गठबन्धनलाई बलियो बनाउँदै अध्यक्ष नेपालले संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा रहेको बताए ।

उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्नसमेत आग्रह गरे । केन्द्रसँगै प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा अध्यक्ष नेपालको जोड थियो ।

“हामी जहाँ छौँ, त्यहिबाट जनताको पीडा र बेदनालाई सरकार, सदन र सडकबाट उठाउनुपर्छ”, उनले भने । नेकपा महासचिव नेत्रविक्रम (विप्लव)ले विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको आवश्यकताले मोर्चा गठन भएको स्पष्ट पारे ।

उनले समाजवादी मोर्चा कुनै व्यक्तिगत चाहनाबाट नभएर वर्तमानको आवश्यकताले गठन भएको बताए ।

“राजनीतिक उपलब्धि धेरै भए, पुँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा चाहेका उपलब्धि भएनन्”, उनले भने, “अब एक्लै हिँडेर त्यो उपलब्धि हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो ।”

महासचिव विप्लवले देशलाई साम्राज्यवादको चङ्गुलबाट मुक्त गराउन मोर्चा गठन भएको बताउँदै भने, “हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो ।”

उनले एमसीसी परियोजना कार्यान्वयनमा नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न नदिने बताए ।

“नेपाललाई निःस्वार्थ सहयोग गर्न चाहने कसैको पनि हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिँदैन”, उनले भने, “समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।”

जनता समाजवादीका केन्द्रीय कार्यकारी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवले वर्तमान सरकारलाई नेपाली जनताले आशा र विश्वासका साथ हेरेको बताउँदै जनताको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

उनले देशको गरिबी, अशिक्षा, बेरोजगारीजस्ता तमामखाले समस्याको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा सरकार अघि बढे जनतालाई वास्तविक न्याय मिल्ने बताए ।

कार्यक्रममा नेकपा (एस)का नेता प्रवेश हमालले १५ सदस्यीय लुम्बिनी प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा गरेका थिए ।

मोर्चामा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, नेकपा (एस)कातर्फबाट सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र निर्मल सुवेदी, जनता समाजवादीबाट नवीनकुमार सुरुवात, मनिकर कार्की र अशोक यादव र नेपाल कम्युनिष्ट पार्टीबाट वसन्त श्रेष्ठ, नारायण सि र सम्झाना सि रहेका छन् ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?