Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर


१० भदौ, रसुवा। पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल मार्गका ठाउँठाउँमा स्वास्थ्य परीक्षण सुरू गरेको हो ।

चिकित्सकसहितको स्वास्थ्य शिविर चोलाङपाटीमा रहने र सेनाका स्वास्थ्य प्राविधिकमार्फत उकालो चढ्दै गरेका यात्रुको उच्च रक्तचाप, मधुमेहलगायत रोगको लक्षण देखिएमा बाटोमै परीक्षण गर्ने व्यवस्था मिलाइएको विष्णुदल गणले जनाएको छ । यात्राका क्रममा तीर्थयात्रसलाई असहज भएमा आफ्नै जनशक्तिले छिटोभन्दा छिटो शिविरमा पुर्याइ प्राथमिक उपचार गर्ने व्यवस्थासहित घुम्ती परीक्षण सुरु गरिएको सेनाले जनाएको छ ।

प्राथमिक स्वास्थ्योपचारका साथै गोसाइँकुण्डमा स्नान गर्दा हुन सक्ने जोखिम न्यूनीकरण गर्न भक्तजनमाझ सहजीकरण गरिदिने, लेक लाग्ने समस्याका कारण शारिरिक अवस्था शिथिलता आएमा वा आउने सम्भावना भएका यात्रुलाई तत्काल बेँसीतर्फ झार्ने गृहकार्य पनि सेनाले सुरू गरेको छ ।

तत्काल उद्धार गरी छिटोछरितो मानवीय सेवाका लागि विष्णुदल गणले सुरू गरेको कदम गतवर्षको भन्दा यस वर्ष नयाँ भएकाले यस वर्षको धार्मिक मेला उत्साहजनक हुने यात्रुले प्रतिक्रिया दिएका छन् ।

लाङ्टाङ राष्ट्रिय निकुजको सुरक्षामा तैनाथ उक्त गणले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको आधार इलाका क्षेत्रको वन, बनस्पति, वन्यजन्तु एवं जैविक विविधताको संरक्षणका साथै मेला, पर्वमा सहजीकरण, प्राकृतिक विपद्को उद्धारलगायत कार्यमा समन्वय गरिरहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उनका अनुसार गोसाइँकुण्डका यात्रुले ल्याएका सवारीसाधन धुञ्चेको खेलमैदानमा पर्किङ गर्ने व्यवस्था गरिएको छ ।

बजार हातामा कुनै पनि सवारीसाधन राख्न नपाइने उल्लेख गर्दै पालिकाले तय गरेको पार्किङस्थलमा मात्रै सवारी राख्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक खुला राखी यात्रुलाई यात्रा सहज बनाउन ट्राफिक प्रहरीले पहरा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमनकुमार थापाले बताए । उनका अनुसार जिल्लामा सुरक्षा गस्ती यथेष्ठरूपले परिचालन गरी यहाँको सुरक्षालाई थप व्यवस्थित गरिएको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?