Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पूजा सामग्री लिएर सरकारी टोली बडीमालिका प्रस्थान


१० भदाै, बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

हरेक वर्ष साउन शुक्ल चतुर्दशीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थ यात्री त्यसतर्फ लागेका हुन् । बडी मालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकाङ्क्षासमेत पूरा हुने अपेक्षामा यात्रुहरू बडीमालिका जाने गर्छन् ।

खप्तडमा लाग्ने गङ्गा दशहरा मेलाका समयमा स्थानीय निकायका उच्चपदस्थ व्यक्तिले यहाँ दर्शन तथा पूजाआरधाना गर्दै आएका छन् । बडीमालिकाको दर्शनले धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रही आएको बडीमालिकाका पुजारी भानुभक्त पाध्यायले बताए ।

उनका अनुसार बडीमालिका बरदायी शक्तिस्वरुपा माता भएकाले देश तथा विदेशबाट पनि एक पटकका लागि मात्र भए पनि यहाँ आउने गरेका छन् । बडी मालिकामा बाजुरा, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा लैजाने गरिन्छ ।

सरकारी पूजाका लागि बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नेतृत्वको टोली आइतबार बडी मालिकामा प्रस्थान गरेको हो । टोलीमा सुरक्षा निकायका प्रमुख, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का र अन्य जनप्रतिनिधिसमेत सहभागी छन् । हरेक वर्ष जिल्लाका चार शक्तिपीठमा पूजा आराधना गर्ने प्रचलन छ ।

जिल्लाका बडीमालिका, बूढीनन्दा, बडालेख, दुनलेख, सुनन्दालगायत शक्तिपीठमा एकैदिन पूजा लाग्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए ।

उनका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र आन्तरिक पर्यटक बढाउनका लागि आवश्यक पहल गर्न जरुरी रहेको छ । बडीमालिका र बूढीनन्दालाई राज्यले पर्यटकीय क्षेत्रका रूपमा घोषणा गरेर उक्त क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना अघि सार्नुपर्छ ।

बडीमालिका र बूढीनन्दाको तीर्थयात्रा सुरु

बडीमालिकाको तीर्थयात्रा आजदेखि सुरु भएको छ । शक्ति पीठका रूपमा रहेको बडी मालिकामा बाजुरासहित विभिन्न जिल्लाका तीर्थयात्री यात्रामा यात्रामा सहभागी छन् । पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन बडीमालिकासहित अन्य शक्ति पीठमा एकैसाथ पूजा लाग्ने गर्छ ।

बडीमालिकाको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भएकाले अधिकांश श्रद्धालु भक्तजन बडीमालिकाको दर्शन गर्न आउने गरेको त्यहाँका पुजारी नेत्रप्रसाद पाध्यायले बताए ।

निःसन्तानलाई सन्तान दिने र मागेको बार पूरा हुने भएकाले श्रद्धालु भक्तजनको बडी मालिकामा घुइँचो लाग्ने गरेको उनको भनाइ छ । बडीमालिकाको पूजाका लागि डोटीबाट डोल र जुम्लाको चन्दनाथबाट पनि सरकारी पूजा बाजुरामा आइपुगेको छ । बाजुरा, डोटी, जुम्ला र कालिकोटबाट ल्याइएको सरकारी पूजा सकेपछि अन्य भक्तजनले दर्शन गर्ने प्रचलन रहिआएको छ ।

बूढीनन्दामा पनि यात्रा सुरु

जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको बूढीनन्दामा आउने भक्तजनको तीर्थ यात्रा पनि सुरु भएको छ । बडीमालिकासँगै बूढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ । धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा रहेको बूढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरू छन् ।

बडीमालिका र बूढीनन्दा बहिनी भएकाले उनीहरू दुवैको चतुर्दशीकै दिन पूजा हुने गरेको हो । यस वर्ष पहिलो पटक बूढीनन्दामा पनि सरकारी पूजा हुने भएको छ ।

चार शक्तिपीठमा एकैसाथ पूजा

जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकैसाथ पूजा लाग्ने गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेका ती चार शक्तिपीठमा आआफ्नै ठाउँमा पूजा आराधना गरेर मेला भर्ने गरिन्छ ।

बडीमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरूको एकैसाथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडीमालिकालगायत अन्य तीर्थयात्रा गर्न नपाइने धार्मिक मान्यता रहिआएको छ । बडीमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा घरमा घटना हुने वा अन्य कुनै क्षति हुने जनविश्वास रहिआएकाले आ-आफ्नै ठाउँमा पूजा मेला गर्ने गरिएको बताइन्छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?