Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात


१० ,भाद्र ,गल्याङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ।

सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए ।

“हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ”, उनले भने, “दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि काठमाडौँ निर्यात गर्ने गरेका छौँ ।”

उनले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको दाबी गरे ।

यहाँको दुग्ध सङ्कलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन् ।

“साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध सङ्कलन हुन्छ”, उनले भने, “दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ ।”

अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई रु एक हजारदेखि एक हजार एक सयसम्म पर्ने बताए । उनले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताए ।

सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताए ।

“कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ”, उनले भने, “बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा रु २५ अनुदान दिँदै आएका छौँ ।”

प्रबन्धक रेग्मीले प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भैसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए ।

उनले २८ जना कृषकलाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएकोसमेत जानकारी दिए । विसं २०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य रहेका छन् ।

सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ ।

“हिजोआज वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने र ब्याजमार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ”, उनले भने, “यो अवस्थामा परिवर्तन ल्याएर कृषकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजनाअनुसार सहकारीले काम गरिरहेको छ ।”

रेग्मीले सहकारीले कृषकमुखी कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारमा जान ठिक्क परेकाहरू रोकिने गरेको सुनाए ।

उनले कृषकलाई अकला नमूना साना किसान कृषि सहकारीमा जोडिएर स्वरोजगार बन्न आग्रह गरे ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?