Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

नेता कार्कीको निधनमा कांग्रेसले दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने


७ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा  दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उनको उपचारका क्रममा बुधबार निधन भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

बैठकले स्व नेता कार्कीप्रति सम्मान प्रकट गर्दै भदौ ८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने पनि निर्णय गरेको छ ।

श्रद्धाञ्जली अर्पण गर्न आज बिहान पार्टीको केन्द्रीय कार्यालय प्राङ्गणमा उनको शव राखिएको थियो । नेता कार्कीको शवमा आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

विसं २०१४ वैशाख २९ गते जन्मनुभएका स्व कार्कीले कांग्रेसको सङ्गठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएका सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले उल्लेख गरेको छ । उनकोे निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै बैठकले स्व. कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकमा नेता स्व. कार्कीको आत्माको चीर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गरिएको थियो । कांग्रेसले यस दुःखको घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनमा धैर्य धारण गर्नसक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै समवेदना प्रकट गरेको छ ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?