Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

तनहुँमा एक लाख स्वास्थ्य बीमामा आबद्ध


७ भदौ, तनहुँ । तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख २६ हजार नौ सय ६२ रहेकामा ३५ प्रतिशत मात्रै जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध भएको स्वास्थ्य बीमा बोर्ड तनहुँले जनाएको छ । जनचेतना र गरिबीका कारण अझै पनि केही नागरिक स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको बोर्डका दर्ता अधिकारी सिर्जना पोख्रेलले जानकारी दिए ।

कार्यालयका अनुसार व्यास नगरपालिकाका– २१ हजार सात सय २८ जना, आँबुखैरेनी गाउँपालिकाका छ हजार चार सय ३६ जना, बन्दीपुर गाउँपालिकाका सात हजार छ सय २७, भानु नगरपालिकामा ११ हजार तीन सय ४५, भिमाद नगरपालिकाका १४ हजार एक सय ६७, देवघाट गाउँपालिकाका आठ हजार छ सय ३५ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

त्यस्तै घिरिङ गाउँपालिकाका पाँच हजार दुई सय ८१, शुक्लागण्डकी नगरपालिकाका– २८ हजार पाँच सय ९७, म्याग्दे गाउँपालिकाका सात हजार दुई सय ३९ जना स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयले जनाएको छ । जिल्लामा स्वास्थ्य बीमामा आबद्ध भएकालाई प्रथम सेवा बिन्दु ६ वटा रहेका छन् । पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेका छन् ।

तर सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा प्रथम सेवा विन्दुबाट सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट वञ्चित भएको दर्ता अधिकारी पोख्रेलको भनाइ छ । उनले भने, “केही अस्पतालका कर्मचारीले बिमितले नलिएको स्वास्थ्य सेवा उपचार र औषधिको दाबी भुक्तानी लिने गरेको गुनासो आएको छ । जनता सचेत भएकोमा फर्जी भुक्तानी दाबी रोकथाम गर्न सकिन्छ ।”

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन बीमा नीति नै बाधक रहेको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । उनले भने, “बीमा पोलिसी अनुसार सरकारले आवश्यक रकम उपलब्ध नगराउँदा पर्याप्त औषधि खरिद गर्न सकिएको छैन । जसकारण बीमामा आवद्ध नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएको छैन ।”

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा रु तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ । परिवारमा पाँच जना भन्दा बढी सदस्य भएमाप्रति सदस्यको रु सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले नै प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

सरकारले बीमामा आबद्ध पाँच जना सदस्यलाई वार्षिक एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउने गरेको छ । नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रुपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२/७३ देखि यो कार्यक्रम लागू भएको हो ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?