Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी


३ भदाै, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।

गैँडाकोट नगरपालिका–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भँगालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन पाउने भएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जले बगैँचा एडभेन्चर रिसोर्टलाई यही भदौ १ गतेदेखि एक वर्षका लागि डुङ्गा सफारीको अनुमति दिएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए । “रिसोर्टमा आउने पर्यटकलाई काठे गोरु गाडामा नारायणी नदीको शिख्रौली घाटसम्म र त्यहाँबाट करिब ११ किलोमिटर डुङ्गामा सफारी गराएर दिव्यपुरीसम्म पुर्याइनेछ”, उनले भने, “डुङ्गा सफारीपछि पर्यटकलाई दिव्य सामुदायिक वनमा जङ्गल सफारीसमेत गराउने गरेर प्याकेज तयार पारिएको छ ।”

होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साँझा पहलमा यस क्षेत्रमा डुङ्गा सफारी सञ्चालन गर्न लागिएको हो । यसअघि होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको भित्री क्षेत्रमा करिब ५५ किलोमिटर लामो जङ्गल सफारी सुरु गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्कनुभएका व्यवसायी सन्तोष धितालले गैँडाकोटको हर्कपुरमा करिब रु ८० करोडको लगानीमा बगैँचा एडभेन्चर रिसोर्ट सञ्चालन गर्नुभएको हो । “निर्माणाधीन रिसोर्टलाई कार्ट हाउस (गाडा घर) भनेर चिनाउन खोजिएको छ”, सञ्चालक धितालले भने, “वातानुकूलित यो होटलमा बाहिर र कोठाभित्रको तापक्रममा १२ डिग्री फरक हुने छ ।”

यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो रहेको उनले दाबी गरे । “होटेलका सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ”, उनले भने । होटेलमा बाँसको ढुङ्ग्रामा खाना पकाउने प्रविधि राखिएको छ । होटेलका पाहुनाले खाना खाने थाल, प्लेट, गिलाससमेत काठबाट नै तयार गरिएको उनले बताए । “होटेल पूर्णरुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने छन्”, उनले भने, “यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिनेछ ।”


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?