Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

दाताको भरमा आश्रम सञ्चालन


तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासङ्घ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिनुभयो । “जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ”, उहाँले भन्नुभयो । आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्नुहुन्छ । आश्रममा आठ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आउनुभएको छ । “आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्न पर्दैन”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई बिहान–बेलुका नै दूधको व्यवस्था गरिएको छ ।” आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ ।

यसका लागि आश्रममा सोलार जडान गरिएको छ । उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउनुहुन्छ । व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो । आश्रममा हाल तीन जनाले आश्रय लिइरहनुभएको छ । आश्रम सञ्चालनका लागि मासिक करिब रु ३५–४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ । दाताको सहयोग विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो । “व्यक्तिले जन्मदिन, पुण्यतिथिलगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगका कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, उहाँले भन्नुभयो । विभिन्न पेसा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।

तीस जना महिलाबाट सुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या तीन सय ३० पुगेको छ । असहाय एवं आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको जनाइएको छ । स्थापनाकालमा ३० महिलाले रु एक–एक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।” उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ । अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड सुरु तनहुँको दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।

हैरान्स क्लबको आयोजनामा सोमबारदेखि व्यास नगरपालिका–३ मा प्रथम अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन १० खेल सम्पन्न भएको छ । छात्रतर्फ छ र छात्रातर्फ चार खेल सम्पन्न भएको खेल संयोजक उज्ज्वल भट्टराईले जानकारी दिनुभयो । छात्रतर्फ सत्यवती मावि र निर्मल माविबीच भएको खेलमा सत्यवती, बाराही कलेज र पराशर कलेजबीच भएको खेलमा बाराही, कन्काई एकेडेमी र आदिकवि भानुभक्त क्याम्पसबीच भएको खेलमा आदिकवि, सत्यवती मावि र दमौली कलेजबीच भएको खेलमा सत्यवती, व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ, व्यास बोर्डिङ र दमौली कलेजबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएको छ । छात्रातर्फ पराशर कलेज र दमौली कलेजबीच भएको खेलमा पराशर, सत्यवती मावि र बाराही कलेजबीच भएको खेलमा सत्यवती, बाराही कलेज र व्यास बोर्डिङबीच भएको खेलमा बाराही र व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएको छ । खेलमार्फत पर्यटन प्रवद्र्धन र बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रविन पौडेलले बताउनुभयो । पछिल्लो समय जिल्लामा बास्केटबल खेलतर्फ आकर्षण बढ्न थालेकाले विद्यालयस्तरदेखि नै विद्यार्थीलाई बास्केटबलप्रति रुचि बढाउन प्रतियोगिता आयोजना गरिएको पौडेलको भनाइ छ । प्रतियोगिताको शुभारम्भ गर्दै व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले बास्केटबलको राम्रो सम्भावना रहेकाले अनुशासित भई कला प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

क्लबका सल्लाहकार एवं वडा सदस्य सुरेश वाग्लेले बास्केटबलको सम्भावना भएकाले केही समय अगाडिमात्रै व्यास नगरपालिकाले राष्ट्रपति रनिङशिल्डमा बास्केटबल खेललाई समावेश गरेको बताउनुभयो । मङ्गलबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ आठ र छात्रातर्फ छ विद्यालयको सहभागिता रहेको खेल संयोजक भट्टराईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङशिल्ड ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजको सहभागिता छ । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कुलको सहभागिता छ ।


प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?