Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द


३१ ,श्रावण ,म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज सूचना जारी गरेर सडकमा ढुङ्गा, पहिरो खस्ने र नदी किनारमा धाँजा फाटेर जोखिम हुने भएकाले वर्षायामभर रातको समयमा गलेश्वर–दाना खण्डमा यातायात सञ्चालन नगर्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिरो र कटानका कारण दुर्घटनाको जोखिम देखिएकाले रातको समयमा यातायात बन्द गरिएको बताए ।

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा १० वटा पहिरा छन् । साउन २० गतेदेखि अवरुद्ध भएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा आज दिउँसोदेखि सिधा यातायात सञ्चालन हुन थालेको छ ।

रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा सडक माथिबाट पहिरो चलेपछि सिधा यातायात अवरुद्ध बनेको थियो ।

आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो र पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर बैसरी अधेरीखोलामा यातायात सञ्चालन गरिएको जानकारी दिए ।

सडकदेखि पाखो हुँदै करिब पाँच सय मिटर माथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको उनले बताए ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–३ खामभित्ता र तितर खण्डमा कालीगण्डकीले कटान गरेर धाँजा फाटेको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?