Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा


३१ ,श्रावण ,भैरहवा (रूपन्देही) । मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उहाँका छोरा पवनकुमार अर्याल, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष नारायणबहादुर यादव, वडा नम्बर ५ र ६ का वडासचिव गुलाब यादव, समृद्ध नेपाल इनर्जीका प्रोप्राइटर विनोदबाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल टेनिङ इन्स्टिच्युटका प्रोप्राइटर अमरिश यादवमाथि मुद्दा दायर गरेको छ ।

प्रवक्ता दाहालका अनुसार गाउँपालिकामा अवैध कमिसन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको थियो ।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो ।

अख्तियारले अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/०७८ मा वडा नम्बर ३ मा गरिएका विकास निर्माणका कामहरू, मर्चवारी गाउँपालिकामा सौर्य ऊर्जा प्रविधि जडान कार्य, वडा नम्बर ६ मा र वडा नम्बर ७ का वडामा गरिएका विकास निर्माणका काम, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिम सिलाइकटाइ तालिम कार्यक्रम भएका थिए ।

सोही योजना एवं कार्यक्रमको वर्षको अन्त्यमा सरकारी रकम भुक्तानी दिँदा प्रमुख प्रशासकीय अधिकृत अर्यालले पालिकासँग सरोकार राखेर आर्थिक कारोबार गरेका समूहबाट घुस लिएको पुष्टि भएको प्रवक्ता दाहालले बताए ।

दाहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत अर्यालले रु १३ लाख ४५ हजार घुस लिएको अख्तियारले पुष्टि गरेको छ । अख्तियारले अर्यालबाट घुस लिएको रु १३ लाख ४५ हजार जफत, त्यसअनुसारको जरिवाना र कैद सजायको माग दाबी लिएको छ ।

उनका छोरा पवन कुमारसँग पनि सोही बिगोबमोजिमको सजाय मागदाबी गरेको छ । वडासचिव गुलावसँग रु दुई लाख बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ ।

तत्कालीन वडाध्यक्ष नारायणबहादुरसँग रु पाँच लाख बिगो कायम गरेको छ । प्रोप्राइटर विनोदबाबु तिवारीविरुद्ध रु ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरुद्ध रु तीन लाख ६० हजार र प्रोप्राइटर अमरिश यादवविरुद्ध रु दुई लाख बिगो मागदाबी गरेको छ ।

आरोपितमध्ये प्रमुख प्रशासकीय अधिकृत अर्यालले अवकास पाइसक्नुभएको छ भने तत्कालीन कार्यपालिका सदस्य राजेश हरिजनको मृत्यु भइसकेको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?