Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रङ्गशाला


३१ श्रावण, भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्‍यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको छैन ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुविधा सम्पन्न रङ्गशाला बनेपछि सहजता होला भनिए पनि रङ्गशालाको स्वामित्व कसले लिएर सञ्चालन गर्ने विषय टुङ्गो नलाग्दा समस्या देखिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव सफल किरातले बताए ।

उनले भने, “प्रदेश सरकारको लगानीमा बनेको रङ्गशाला प्रयोगमा ल्याउने विषयमा टुङ्गो लाग्न सकेन, यस विषयमा सर्वपक्षीय बैठकको जरुरी देखिएको छ ।”

प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा निर्माण भएको रङ्गशालाको निर्माण कार्य भइसकेको छ । रायमाझी मार्सेली निर्माण जेभीले रङ्गशाला निर्माण गरेको हो । करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको भए पनि त्यो निराशामा परिणत भएको स्थानीयवासी सुवेन्द्र महतले बताए ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता भइरहेको अवस्थामा रङ्गशालाको निर्माणले खेलमैदानको समस्या दीर्घकालीन रूपमा समाधान भएको भए पनि सञ्चालनका विषयमा कसैले पहल नगर्दा समस्या देखिएको महतको भनाइ छ ।

“रङ्गशाला निर्माणका लागि कृषियोग्य जमिन मासिएको छ, राज्यको करोडौँ लगानीमा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला लथालिङ्ग अवस्थामा छाड्नु कतिको जायज हुन्छ ?”, उनले भने, “निर्माण सम्पन्न पश्चात पनि अस्तव्यस्त नै छाड्ने भए खेतीयोग्य जग्गा बिगारेर निर्माण गर्नुको औचित्य के छ ?”

रङ्गशालाको अभावमा प्रतियोगिता सञ्चालनमा समस्या देखिएको अवस्थामा रङ्गशाला निर्माण भएको उल्लेख गर्दै खेल अभियन्ता विनम श्रेष्ठले भने, “खेलमैदान सानो हँुदा ११ जना खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, करोडौँका लागतमा बनेको रङ्गाशाला प्रयोगमा ल्याउने विषयमा पनि कसैको चासो छैन ।”

स्थानीय युवा तुफान किरातले भने, “जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, त्यसमा रङ्गशाला निर्माण पनि भएको छ, अब सञ्चालनको वातावरण कसले मिलाउने हो ?” विभिन्न निकायमा रङ्गशाला प्रयोगका विषयमा कुरा उठाउँदा सुनुवाइ नभएको किरातको गुनासो छ ।

उचित भौतिक संरचनाको निर्माण कार्य नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए । नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी भोजपुरका नै भएको अवस्थामा जिल्लामा व्यवस्थित रङ्गशालाको भने अभाव थियो ।

भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचना जिल्लामा निर्माण हुने क्रम बढेको बताए । सुवालले बनेका संरचना सञ्चालनमा आउने र बन्न बाँकी संरचना सक्ने अभियानमा सरोकारवालाको ध्यान जान जरुरी देखिएको बताए ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?