Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्णाली नदीमा पानीको बहाव बढ्दै : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह


२९ ,श्रावण ,टीकापुर । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।

चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ ।

पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरिन् ।

“पहाडी क्षेत्रमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ”, उनले भनिन्, “यही रफ्तारमा पानीको सहत बढेमा तटीय क्षेत्रमा जोखिम बढ्छ । जोखिम क्षेत्रका नागरिक सुरक्षित रहनुहोला ।”

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिईन् ।

यस्तै विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियामा पछिल्लो २४ घण्टामा ३७ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिए ।

वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् ।

“पानीको सहतबारे जानकारी, नदीको अवस्थाबारे जानकारी र अन्य पूर्वतयारीका कुरा साइरनमार्फत सबैलाई निरन्तर जानकारी दिन थालेका छौँ”, विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भनिन्, “तालिमप्राप्त टिम, बरघर, नगर प्रहरी, विपद् व्यवस्थापन समितिका सदस्य सबै तयारीमा बसेका छौँ ।”

टीकापुरको सत्ती पुलमा पनि नदीमा पानीको बहाव मापनका लागि पालिकाले ‘गेज स्केल’ निर्माण गरेको छ ।

पानीको सतह बढ्दै गएमा नागरिक सुरक्षित रहन सहयोग पुगोस् भनी पालिकाले सत्ती पुल नजिक गेज स्केल बनाएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले बताए ।

“नदीमा पानीको बहाव बढ्न थालेपछि नागरिक नदीसम्म हेर्न जाने र फर्कने गरेका छन्”, उनले भने, “यसअघि आएको बाढीले त्रसित भएका केही दिनयता निदाउन सकेका छैनन् ।”


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?