Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

युवाका नीति कार्यान्वयनमा समस्या : युवा सांसद


२६ ,श्रावण ,काठमाडौँ । युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उनिहरूले युवाका नीति कार्यान्वयन नहुँदा युवाको क्षेत्रमा काम हुन नसकेको बताए ।

सांसद प्रदीप पौडेलले कार्यान्वयन नहुने नीति बनाएर त्यसको अर्थ नहुने बताए । उनले राज्यले रोजगार, सुशासन, नीतिको सम्बन्धमा समाधानको निष्कर्ष निकाल्न नसकेको आरोप लगाए । “शैक्षिक प्रमाणपत्र राखेर विद्यार्थीले कहाँ ऋण पाएका छन् ? सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकबाट युवाले ऋण पाए त ? सामाजिक उत्तरदायित्वअन्तर्गत नक्कली कृषकले ऋण लगेका छन्”, उनले भने, “प्रणालीभन्दा पहुँचका आधारमा काम हुने भएकाले युवामा वितृष्णा बढेको छ ।”

सरकारले पद्दति, सुशासनको काम गर्न नसकेको पौडेलेको भनाइ थियो । उहाँले सरकार र राजनीतिक दलले युवाको क्षेत्रमा परिमाण दिने गरी र सुशासन प्राप्तिका लागि अगाडि बढ्नुपर्ने बताए । सांसद सूर्यप्रसाद ढकालले युवाका क्षेत्रमा बनेका नीतिमा काम गर्न नसकेकाले युवालाई उद्यमशील बनाउन समस्या भएको बताए । उनले युवाका विषयमा धेरै मन्त्रालयले बजेट छुट्याए पनि उक्त बजेटको सही सदुपयोग हुन नसकेको बताए । “योग्य युवा राजनीतिमा नआउने हो भने अयोग्य युवाले राजनीति गरिरहन्छन्”, उनले भने, “मुलुकलाई सही दिशामा लैजानका लागि योग्य युवा राजनीतिमा आउनुपर्दछ ।”

सांसद माधव सापकोटाले कृषिलाई आधुनिकीकरण र राज्यले संरक्षण गर्ने हो भने युवाका समस्या केही हदसम्म भए पनि समाधान हुने बताए । उनले युवाका क्षेत्रमा बनेका कानुन कार्यान्वयनमा जोड दिए । सांसद सुमना श्रेष्ठले नीति कार्यान्वयनमा ध्यान नदिएकाले युवा उद्यमी बन्न नसकेको बताईन् ।

परिषद्को आयोजनामा यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ दिवस मनाइँदै छ । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका क्षेत्रमा सरकारले काम गरिरहेको बताए । उनले दिवस मनाउनका लागि साताव्यापीरूपमा युवा नेतृत्व विकास तथा युवा तथा उद्यमशीलतासम्बन्धी अन्तक्र्रिया, गोष्ठी, रक्तदान, वृक्षरोपणलगायत कार्यक्रम गरिएको बताए ।

नेपालमा बर्सेनि साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । अहिले साताव्यापीरूपमा परिषद्को अगुवाइमा दिवस मनाइरहेको छ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ (साउन २७ गते) लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । युवा परिषद् गठन भएसँगै परिषद्कै अगुवाइमा २०७३ सालदेखि नेपालमा युवा दिवस मनाउन थालिएको हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत छ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?