Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

बाँकेमा थपिँदै ठूला उद्योग


८ श्रावण, बाँके । बाँकेमा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् । बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपािलका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् ।

कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई आवश्यक खाद्यवस्तु उत्पादन गर्दै आएको डल्फिन ग्रुपले भर्खरै कोहलपुर–७ लखनावरमा रु दुई अर्ब ५० करोड बढीको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ । यहाँ केएल दुगड ग्रुपको खाद्य उद्योग, जयमङ्गलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गङ्गा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा छन् । सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महङ्गा र नाम चलेका गाडीका शोरुम पनि यहीँ छन् ।

पश्चिम नेपालभर आफ्नो उत्पादन विस्तार गर्न कैलालीबाट बाँकेमा उद्योगलाई विस्तार गरेको डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार डल्फिन ग्रुपले कोहलपुरमा पशुपक्षीका लागि अत्याधुनिक दाना उद्योग, मानिसका लागि चामल मिल, आटा उद्योग, सोयाबोडी र चिउरा तथा भुजा उद्योग सञ्चालन गरेको छ । यीमध्ये दाना उद्योग नेपालकै सबैभन्दा आधुनिक उद्योग हो । चाइनिज प्रविधिको यो दाना उद्योगको उत्पादन क्षमता प्रतिघण्टा १५ टन छ ।

“पशुपक्षीको दाना र मानिसका लागि आवश्यक खाद्यान्न अन्य प्रदेशबाट आयात गर्नुपर्ने बाध्यता अब छैन, हामीले बाँकेबाट देशभर नै उत्पादन विस्तार गरिरहेका छौँ”, अध्यक्ष थापाले भने, “हाम्रा उत्पादन सहज, सुलभ र गुणस्तरीय रुपमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।” अत्याधुनिक पूर्ण स्वचालित उद्योग भएकाले डल्फिन ग्रुपको दानाको गुणस्तरमा कुनै पनि कमी कमजोरी नहुने उनको दाबी छ ।

डल्फिन समूहले तीन वर्षदेखि कोहलपुरमा उद्योग सञ्चालन गर्दै आएको छ । डल्फिन ग्रुपले सञ्चालन गरेका उद्योगमा चार सयदेखि पाँच सयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । उद्योग व्यवसायको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्दै गुणस्तरीय उत्पादनमा आफुहरुले जोड दिँदै आएको डल्फिन ग्रुपका प्रबन्ध निर्देशक तीर्थ थापाले उल्लेख गरे ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा झण्डै करिब तीन दर्जन मात्र उद्योग सञ्चालनमा रहेका बेला कोहलपुरको पिपरी, पार्वतीपुर र जानकी गाउँपालिकाको गनापुर क्षेत्रमा भने औद्योगिक क्षेत्रको तुलनामा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने दोब्बर ठूला उद्योग सञ्चालनमा छन् ।

बाँकेमा उद्योग सञ्चालन गरेर पश्चिम नेपालमा उत्पादन तथा बिक्री वितरण गर्न ढुवानी कम लाग्ने र यहाँ उद्योगका लागि आवश्यक जग्गा जमिन पनि सहजै पाइने भएकाले ठूला उद्योग थपिँदै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरी बताउँछन् ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?