Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन


६ श्रावण, रुकुम । प्रायजसो पानीघट्ट खोला वा नदी किनारामा हुने गर्छन् । बाँफीकोट गाउँपालिकाको एउटा गाउँमा भने साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको छ ।

बाँफीकोट–५ माथिल्लो काँडामा तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको हो । ‘गाउँका मान्छेलाई सधैँ घट्टमा पिसानी गर्ने पिरलो हुने गर्दथ्यो, परिवारको एउटा सदस्यले अन्न पिसानी गर्न जाँदा एक दिनकै समय छुट्याउनु पर्ने हाम्रो समस्या थियो’, स्थानीय भक्तबहादुर केसी भने ।

अब भने दुःखका दिन गएको उनको भनाइ छ । ‘गाउँमै घट्ट निर्माण भएको छ, गाउँमै निर्माण भएको घट्टमा अन्न पिसाउन पाउँदा गाउँले पनि निकै खुसी छन्’, केसीले भने । गाउँमा घट्ट निर्माण नहुँदासम्म माथिल्लो काँडाका मान्छे अन्न पिसानीकै लागि निकै टाढा डार्ने, तिलिचा खोला, खारखोलालगायत ठाउँमा जाने गर्थे ।

उनका अनुसार टाढाको ठाउँमा अन्न पिस्न जाँदा पनि त्यहाँ अन्न पिस्न पालो नै नआउने समस्या पनि उत्तिकै हुन्थ्यो । दिनभरको समय नै छुट्याएर घट्ट जाँदाका दुःखका दिन अहिले पनि सङ्गीता केसीलाई सम्झना आउँछ ।

प्रदेश सरकारको रु १५ लाख, मारपूजा सामुदायिक वन उपभोक्ता समितिको दुई लाख र स्थानीयको तीन लाख बराबरको लगानीमा गाउँमा घट्ट सञ्चालनका लागि पानी ल्याइएको छ । वडाकै गारकटेरा मुहानबाट गाउँसम्म पाइपमार्फत पानी ल्याइएको स्थानीय धु्रवराज केसीले बताए ।

घट्ट सञ्चालन गर्ने योजना लामो समयदेखि बनाइए पनि यस वर्ष भने त्यो योजना पूरा भएको उनले बताए । घट्ट निर्माणपछि गाउँका एक सय ६२ घर परिवार लाभान्वित भएका छन् । साथै घट्ट सञ्चालनका लागि ल्याइएको पानीलाई गाउँमा खानेपानीका लागि पनि वितरण गरिएको छ ।

दिनमा घट्ट सञ्चालन गरिसकेपछि रातिको समयमा गाउँमा पानी वितरण गर्ने ट्याङ्कीमा भण्डारण गर्ने गरिएको छ । त्यही पानी गाउँमा खानका लागि धारामा छाडिन्छ । पाइपबाट आएको पानी पिउन लायक रहेको वडाध्यक्ष मनु शाहीले जानकारी दिए ।

पानी ठूलो भएका कारण पनि घट्ट चलाउने, सिँचाइ र खानेपानीका लागि उक्त पानीलाई प्रयोग गरिरहेको वडाध्यक्ष शाहीले बताए । काँडामा सधैँजसो पानीको समस्या हुने गर्छ । अब भने यस वर्षदेखि गाउँमा खानेपानीको समस्या नहुने उनले बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?