Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

खर्च भएको देखाउनकै लागि फाइभस्टार होटलमा आयोजना गर्ने कार्यक्रममा म आउँदिन : मन्त्री मोदी


२९,असार ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले खर्च भएको देखाउनका लागि फाइभस्टार होटलमा आयोजना गरिने कार्यक्रममा आफू उपस्थित नहुने बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न चन्द्रागिरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले कार्य सम्पादन प्रभावकारी भएर गरिने समीक्षात्मक छलफल तथा अन्तक्र्रियामा भने आफू उपस्थित हुने बताए । उनले भने, “सम्झौता बमोजिम कार्य सम्पन्न भएर आयोजना गरिने समीक्षात्मक छलफल तथा अन्तक्र्रियामा म आउँछु तर वैदेशिक सहायताको पैसा खर्च गर्नकै लागि आयोजना गरिने बैठक अन्तक्र्रियामा म आउँदिन ।”

खर्च भएको देखाउनकै लागि कर्मचारीहरु असार मसान्तमा दिनहुँ फाइभस्टारका कार्यक्रममा मात्रै व्यस्त हुन थालेको मन्त्री मोदीको भनाई थियो । “असार मसान्तको समय छ, कर्मचारीहरु अहिले जनताको सेवामा भन्दा पनि फाइभस्टारका कार्यक्रममा व्यस्त छन् । कर्मचारीको यो दिनचर्याबाट सुशासन सम्भव छैन” उनले भने । वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको काम हुन नसकेको बताउँदै उनले भने, “वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनि काम हुन सकेको छैन, खर्च भएको देखाउन महँगो होटल ताक्ने बेथिति बढेको छ, यसको रोकथाम आवश्यक छ ।”

उनले मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले लक्ष्यअनुरुपको बजेट खर्च गर्न नसकेकोमा पनि असन्तुष्टि जनाएका छन् । “हाम्रै मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)ले पनि लक्ष्य अनुरुपको बजेट खर्च गर्न सकेन, यसबारे गम्भीर समीक्षा जरुर आवश्यकता छ” उनले भने ।

मन्त्री मोदीले वैदशिक सहायतालाई लक्षित वर्गसम्म पुर्याउन जरुरी भएको समेत बताएका छन् । लक्षित वर्गसम्म वैदेशिक सहायताको रकम पुग्न नसक्ने कार्यक्रमको लक्ष्य पनि पूरा हुन नसकेको उनको भनाई थियो । वैदेशिक सहायतासँग सम्बन्धित प्रतिनिधिहरुलाई कर्मचारीहरुले अनेकन् बहानामा दुख दिने गरेको गुनासो पनि आफूले सुनेको बताउँदै मन्त्री मोदीले भने, “आफू अनुकुलताको कुरा राखेर, लोभ र लालच देखाएर यो वा त्यो बहानामा कर्मचारीहरुले वैदेशिक सहायताका प्रतिनिधिहरुलाई घुमाइराखेको गुनासो पनि सुनेको छु, अब कर्मचारीबाट यो वा त्यो बहानामा असहयोग भए मलाई सिधा सम्पर्क गर्नुहोला ।”


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?