Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

पार्वती मन्दिरले थपियो अर्जुनधारा धामको आकर्षण


२६ ,असार ,झापा । ‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ । अर्जुनधारा नगरपालिका–७ मा रहेको प्रसिद्ध यस धाममा बर्सेनि १० लाखभन्दा बढी धार्मिक पर्यटक देश विदेशबाट दर्शनका लागि आउने गरेका छन् ।

महाभारतकालमा अर्जुनले पर्जन्य अस्त्र प्रहार गरी भूमिगत जलधारा निकालेको किंवदन्तीका कारण धामको नाम अर्जुनधारा रहन गएको हो । धामको मूल मन्दिर दक्षिणतिर पार्वती माताको भव्य मन्दिर र १०८ शिवलिङ्ग स्थापना गरिएको हो । बिर्तामोड नगरपालिका–३ निवासी कमल बस्नेत र झुमा बस्नेतले पार्वती मन्दिर र शिवलिङ्ग रु एक करोड ५० लाखको निजी लगानीमा निर्माण गरिदिनुभएको धाम सञ्चालक समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।

“धामको गुरुयोजनामा पार्वती मन्दिर र १०८ शिवलिङ्ग बनाउने कुरा समावेश थियो”, जोशीले भने, “हामी दाताको खोजीमा थियौँ । त्यही बेला बस्नेत दम्पती आउनुभयो र आफ्ना बुबाआमाको स्मृतिमा बनाउँछौँ भन्नुभयो ।”

नवनिर्मित संरचना मन्दिरलाई हस्तान्तरण भइसकेको छ । अर्जुनधारा मन्दिरमा मूलतः शिवको पूजा आराधना गरिने हुँदा भक्तजनबाट पार्वती माताको मन्दिरको माग हुँदै आएको थियो । अब शिवको मन्दिर (मूल मन्दिर) र पार्वतीको मन्दिर नजिकै स्थापना भएपछि दर्शनार्थी प्रसन्न हुने गरेको जोशीले बताए । शिवलिङ्ग राखिएको स्थानमा प्रवेशद्वारबाट अघि बढ्दै जाँदा १०८ वटै शिवलिङ्गको दर्शन पूरा गरिसकेपछि मात्र बाहिरिन सकिने व्यवस्था मिलाइएको छ ।

पार्वती मन्दिरको छानो पेगोडा शैलीमै निर्मित छ । विसं २०२२ मा एउटा हात सूर्य भगवान्लाई चढाएको बताउने सल्यानका नरनाथ मिश्र नामक ‘सन्त खडे बाबा’ ले स्थापना गरेको शिवालयको परिष्कृत स्वरूप नै अहिलेको अर्जुनधारा जलेश्वर धाम हो । काठमाडौँको पशुपतिनाथ मन्दिरकै शैलीमा अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरको छाना ताम्रपत्रले पेगोडा शैलीमा निर्माण गरिएको छ भने यहाँ पनि चार वटा ढोका छन् ।

अर्जुुनधारा पोखरी, पञ्च जलधारा, गणेश, हनुमान, गौमाता, नाग देवताका मन्दिरहरू, यज्ञकुण्ड, श्रवणहल, व्यासमञ्च, कार्यालय भवन, पुस्तकालय भवन, गौशाला, गुरुकूल–पाठशाला, छात्रवास, अतिथिगृह, आकर्षकद्वार, पोखरीका बीचमा अर्जुनले बाण हानी निकालेको जलधारा, तिर्खाएका गौमाताले पानी पिउँदै गरेका गाईका आकर्षक मूर्तिहरू मन्दिर परिसरमा स्थापना गरिएका छन् ।

धामको गुरुयोजनाअन्तर्गतको संरचना निर्माणमा रु एक अर्बको लगानी चाहिने धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । “गुरुयोजनामा समावेश गरिएका संरचना अब बनाइने छ”, अध्यक्ष गट्टानी भन्छन्, “धाम क्षेत्रलाई धार्मिक, पर्यटकीय र आवासीय गरी तीन भागमा बाँडिएको छ । जसमध्ये धार्मिक क्षेत्र लगभग पूर्णरूपमा निर्माण भइसकेको छ ।”

धार्मिक क्षेत्रअन्तर्गत खडे बाबाको प्रतिमा स्थापना र उद्यान निर्माण भइसकेको छ भने परिक्रमा मार्ग बनिसकेको छ । धामका संस्थापक खडे बाबाको मूर्ति स्थापना र उद्यान निर्माणमा धामले आन्तरिक स्रोतबाट रु छ लाख ५० हजार र कोशी प्रदेश सरकारको रु १५ लाख खर्च भएको छ । आवासीय क्षेत्रमा गुरुकूल भवन निर्माण भए तापनि सुरक्षा चौकी, सङ्ग्रहालय, चमेना गृह र खानेपानी ट्याङ्की निर्माण भएको छैन । पर्यटकीय क्षेत्रमा पानीको फोहोरासहितको आकर्षक बगैँचा निर्माण गरिने गुरुयोजनामा उल्लेख भएता पनि स्रोतको अभावमा यो बन्न सकेको छैन ।

सात तलाको आधुनिक अतिथि सदन निर्माणका लागि सङ्घीय सरकारसँग रु सात करोड बजेटको माग गरिएको अध्यक्ष गट्टानी बताउनुहुन्छ । धाम क्षेत्र साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । दश कठ्ठाको पोखरी छ । विसं २०५५ को हुलाक टिकटमा यो धामको चित्र प्रकाशित भएको छ । मन्दिरमा दर्शनका लागि भारत, भूटान, म्यानमारदेखि हिन्दू पर्यटक आउने गरेको धामका व्यासाचार्य अग्निप्रसाद सिग्देलले बताए । मन्दिरको भेटी र दाताको चन्दा नै आन्तरिक स्रोत रहेको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?