Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

तनहुँमा नमूना पशुपक्षी अस्पताल बन्दै


२४ असार ,डुम्रे । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ । पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ । नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेपछि निर्माणको काम भइरहेको विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र रहेकाले नयाँ प्राकृतिक रोग देखिएमा पत्ता लगाई निदान गर्न धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले अस्पताल निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाखको लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो ।

आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीले काम गरिरहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म ६० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । पशुपक्षीमा जटिल प्रकारको रोगको उपचार, विभिन्न रोगका बारेमा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न ‘मोडेल’को रूपमा अस्पताल बनाउने कार्य अघि बढेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए । उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत रु १० करोडको लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको छ ।

देशकै ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण भइरहेको उनले बताए । अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपक्षीको उपचार गर्नेछन् । भवनको भुइँतलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्स–रेका साथै प्राविधिक जनशक्तिको व्यवस्था गरिने सो केन्द्रले जनाएको छ । अस्पताल निर्माणपछि साना तथा ठूला पशु तथा चराचुरुङ्गीको अत्याधुनिक प्रविधिबाट उपचार गर्न सकिनेछ । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “प्रविधि तथा भौतिक पूर्वाधारको अभावले गर्दा कार्यालयको नामअनुसारको काम गर्न कठिन भएको बेला नमूना अस्पताललाई काम गर्न सहयोग पुग्नेछ, पशुपक्षीलाई जटिल रोग लागेमा पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता पनि हट्नेछ ।”

नमूना अस्पताल सञ्चालन हुनासाथ पशुबाट मानवमा सर्ने विभिन्न रोगको न्यूनीकरण गर्न, महामारीजन्य रोग फैलन नदिन तथा पशुधनको सुरक्षा गर्न मद्दत पुग्ने उनले बताए । यसलाई तालिम केन्द्रको रूपमा विकास गर्न सकिने केन्द्रका प्रमुख डा श्रेष्ठले बताए । महामारी रोग द्रुतगतिमा फैलन सक्ने भएकाले नियन्त्रणको लागि पशुपक्षी पालनमा अग्रणी जिल्लाका रूपमा चिनिएको तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का पशुपक्षीको उपचार गर्न सहज हुने केन्द्रले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए ।

पहिलो चरणमा ढलानसहितको तीनतले भवन निर्माण गर्न गरिनेछ । अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपक्षीको उपचार गरिनेछ । पशुमा लाग्ने महामारीजन्य रोग निदान गरी क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए । “महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले पशुको क्षति कमी हुने र किसानको आम्दानी बढाउन सकिन्छ”,उनले भने ।

उनले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताए । सामग्री तथा औजरको अभावमा पशुपक्षीको हचुवाको भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको विश्वास छ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले बताउए । “पशुमा सहजै नदेखिने जुका, माटे, चरचरेजस्ता रोगले दूध तथा मासु उत्पादन हुन्छ, यसमा आँखाले नदेख्ने किटाणु रहेका हुन्छन्”, उनले भने, “यहाँ निर्माण हुने अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट पशुमा लाग्ने रोगको निदान गरी समयमा औषधोपचार गर्न सकिन्छ, जसले गर्दा ती पशुबाट हुने उत्पादनमा बढाउनेछ र किसानको आम्दानी वृद्धि गर्न सकिन्छ ।”

अस्पताल निर्माणपछि तनहुँलगायत लमजुङ, गोरखा र नवलपरासी जिल्लाका पशुपालक किसान लाभान्वित हुनेछन् । करिब छ सय पाँच वर्गमिटर क्षेत्रफलमा दुई ब्लक गरी भवन निर्माण कार्य भइरहेको छ । भवनको तल्लो तलामा पशुपक्षीका लागि एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला, शव परीक्षणलगायतका सेवा कक्ष र प्रविधिक जनशक्ति रहने व्यवस्थासहितको भवन निर्माण हुनेछ भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हललगायत रहनेछन् ।

:मिला दरै


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?