Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

चारपाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा बागलुङबाटै हुने


२३ असार, बागलुङ । ११ वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।

यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले आगामी साउनभित्रै चारपाङ्ग्रे सवारी साधनको ‘लाइसेन्स’ परीक्षा सुरु हुने जानकारी दिए । “ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन १५ दिने बोलपत्र सूचना निस्किसकेको छ”, उनले भने, “बोलपत्रको मूल्याङ्कनसहित आवश्यक प्रक्रिया पुर्याएर पुरीक्षा सुरु गर्छौं ।”

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्सिच्युटले बनाएको संरचना भाडामा लिनुपर्ने अवस्था छ । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

“कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गर्न लागिएको हो”, प्रमुख थापाले भने, “लामो समयसम्म चारपाङ्ग्रेको ट्रायल रोकिँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही लाइसेन्सका लागि बाहिर जानुपर्ने बाध्यता अब हट्छ ।”

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धवलागिरि क्षेत्र लाभान्वित हुने बताए ।

“लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकिरहेको थिएन, अब त्यो छिट्टै सुरु हुन्छ, मन्त्रालयले पनि यसमा विशेष चासो र पहल लिइरहेको छ”, उनले भने, “बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्की लगायतका कार्यालयमा देखिएको चाप पनि घट्छ ।”

गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।

सवारी चालक अनुमति पत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा पहिलोपटक बिहीबारदेखि गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?