Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

आँबुखैरेनी गाउँपालिकामै डायलासिस सेन्टर स्थापना गरिने


१८ असार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डायलासिस सेन्टर स्थापना गर्ने भएको छ । मिर्गौलापीडितका लागि डायलासिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलासिस सेन्टर स्थापना गर्न लागेको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, कार्यक्रम र बजेटमा डायलासिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौलापीडित रहेकाले उनीहरुलाई सहजरुपमा सेवा दिन अस्पतालमा डायलासिस सेन्टर स्थापना गरिने अध्यक्ष शुक्र चुमानले बताए ।

उनले भने, “यहाँका मिर्गौलाका बिरामी भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलासिस गर्नुपर्ने बाध्यता छ, तैपनि भनेको बेला समय नपाउँदा उहाँहरुलाई निकै दुःख भइरहेको छ, त्यस्तो अवस्थाको अन्त्यका लागि आगामी आवमा आँबुखैरेनीमा नै यो सेवा दिनेछौँ ।”

हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर सञ्चालनमा छ । मिर्गाैला पीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ । दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेका छन् ।

उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई नयाँ उपकरण पठाएको छ । प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगे पनि जडान हुन बाँकी छ ।

चार उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन् । अझै ३० जना मिर्गौलापीडित डायलासिसका लागि पालो पर्खिदै छन् ।

गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानले बताए । उनले भने, “ठूला शल्यक्रिया गर्नुपरेमा महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ, केही शल्यक्रिया भने नियमितरुपमा अस्पतालमै हुनेछन् ।”

गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ । अध्यक्ष चुमानले महिलाको प्रजनन स्वास्थ्य, पाठेघरको क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए । गाउँपालिका भित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?