Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार


१८ असार, भक्तपुर । क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो ।

क्षयरोग मुक्त घोषणा अभियानअन्तर्गत आइतवार बसेको जिल्ला समिति बैठक र अन्तरक्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार त्वायनाले नगरको वडा नं ८ र ९ वडामा गरिएको स्वास्थ्य परीक्षणबाट पत्ता लागेका बिरामीका आफन्त बिरामीलाई औषधि सेवन गराउन नमान्ने गरेको बताए ।

उनले ती दुई वडाका दिर्घरोगी र गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा ३० जनामा क्षयरोग संक्रमण देखिएको बताउँदै त्वायनाले नगरमा अत्यधिकरुपमा क्षयरोगी लुकेर बसेको आशङ्का व्यक्त गरे । उनले क्षयरोग निवारणका लागि समाजमा लुकेर बसेको भन्दा पनि लुकाईएका क्षयरोगीका कारण थप चुनौती बन्दै गएको बताए ।

कार्यक्रममा जिल्लामा क्षयरोगको समग्र अवस्था प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जिल्लामा पत्ता लागेका सबै प्रकारका क्षयरोगीको संख्या ६५८ रहेको जानकारी दिए । यसमध्ये फोक्सोमा क्षयरोग भएका बिरामीको संख्या ५७ दशमलव दुई प्रतिशत र फोक्सो बाहेक अन्य भागमा क्षयरोग भएका बिरामीको संख्या ४२ दशमलव आठ प्रतिशत रहेको उनले बताए ।

उनले क्षयरोग मुक्त चाँगुनारायण घोषणाका लागि क्षयरोगमुक्त अभियान स्वयंसेवकलाई तालिम, क्षयरोग प्रभावित व्यक्ति तथा समुदायको सहभागितामूलक योजना, अनुगमन तथा मूल्याङ्कन प्रणालीको स्थापना, समुदायमा क्षयरोग स्क्रिनिङ क्याम्प सञ्चालन, क्षयरोग मुक्त अभियान स्वयंसेवकलाई परिचालन गरी समुदायमा रहेका जोखिम समूहका बस्तीका घरदैलोमा गई स्क्रिनिङ कार्य गरी रोग पत्ता लगाउने कार्यमा सहयोग, खकार सङ्कलन तथा ढुवानी वा सम्भावित बिरामी प्रेषणलगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले सरकारी लक्ष्य प्राप्तिका लागि अहिलेको अभियानलाई तीव्रता दिनुपर्ने बताए । उनले क्षयरोग मुक्त अभियानलाई सूक्ष्म योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउँदै अभियानको नियमित अनुगमन र प्रतिवेदन तयार गर्नुपर्ने खाँचो रहेको बताए । कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखालगायतका प्रतिनिधिले कुनै पनि बिरामीको पहिलो गन्तव्य निजी फार्मेसी तथा मेडिकल पनि भएकाले क्षयरोगको ‘स्क्रिनिङ’ मा उनीहरुलाई परिचालन गर्नुपर्ने सुझाव दिएका थिए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?