Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ ः मन्त्री किराती


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुग्नुभएका मन्त्री किरातीले आज आयोजित कार्यक्रममा बाहिर हुने गरेका नकारात्मक टीकाटिप्पणी अन्त्य गरिनुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोषका गतिविधि चलायमान हुनुपर्ने उहाँको भनाइ थियो । “कोषले राज्यसँग लिनेमात्र भन्दा पनि विश्वविद्यालय, अस्पतालजस्ता सेवामूलक सेवा दिनुपर्छ, भगवान्को नामबाट सञ्चालन हुने यहाँका गतिविधि पारदर्शी हुनुपर्छ, पशुपति क्षेत्रमा रात्रिकालीन सफाइ सेवा पनि सञ्चालनमा ल्याएर सुधारको थालनी गरिनुपर्छ”, मन्त्री किरातीले भन्नुभयो ।

पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद पसलमा अनियमितता भइरहेको, बढी मूल्य तोकिने गरेको, घाट सेवामा अनियमितता हुने गरेकोलगायत गुनासा बढेकाले त्यसको समाधान गरिनुपर्ने उहाँको निर्देशन थियो । राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पशुपति क्षेत्रको गुरुयोजना निर्माणमा ढिलाइ भएको उल्लेख गर्नुहुँदै विश्वमा पशुपतिनाथको पहिचान हुनेगरी गुरुयोजना बनाइनुपर्ने बताउनुभयो । पशुपति क्षेत्रलाई पूजापाठ गर्नेस्थलका रुपमा मात्र नभइ यहाँको महत्वलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने उहाँको भनाइ थियो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद बिक्री कक्षमा फागुन पहिलो सातादेखि नै मूल्यसूची राख्न सूचना प्रकाशन गरिने जानकारी दिनुभयो । पशुपति क्षेत्रमा पाइने सेवा सुविधाका विषयमा नागरिक बडापत्र राखिने जानकारी पनि उहाँले दिनुभएको थियो । घाट सेवामा आउनेसँग पैसा लिने गरिएको गुनासा आएकामा छानबिन गरेर दोषी पाइएका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता कोषले जनाएको छ । पशुपति क्षेत्रका बारेमा बाहिर राम्रो सन्देश नगएका विषयमा पनि कोषले अध्ययन गर्ने भएको छ । पशुपति क्षेत्रका गतिविधिलाई पारदर्शी बनाउन आफू कोषाध्यक्ष भएका बेला सबै आर्थिक गतिविधि बैङ्किङ प्रणालीमा लगेको, पशुपतिनाथका नाममा रहेका सम्पत्ति एवं जग्गाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरी राम्रा काम गरिएको जानकारी सदस्य सचिव थापाले दिनुभयो । पशुपतिनाथका नाममा रहेको सम्पत्ति र जग्गाको छानबिन कोषको तहबाट गर्दा स्रोत, साधन र अधिकार सीमिततका कारण सबै सम्भव नभएकाले सरकारले उच्चस्तरीय छानबिन गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।

त्यो सुझाव छिटो कार्यान्वयन गरिनुपर्ने सदस्य सचिव थापाको भनाइ थियो । पशुपति क्षेत्रको गुरुयोजना गत पुस ८ गते कोष सञ्चालक परिषद्बाट पारित गरी मन्त्रिपरिषद्मा लैजान मन्त्रालयमा पेस गर्ने तयारी गरिएको जानकारी पनि कार्यक्रममा गराइएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएर पुनःनिर्माण गरिनुपर्ने पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ । हाल ११ वटा सम्पदाको पुनःनिर्माण भइरहेको छ । बाँकी १६ सम्पदाको पुनःनिर्माण हुन बाँकी रहेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?