Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

भाषिक बुलेटिन प्रकाशनमा राससलाई सहयोग गर्छौं : मन्त्री पटेल


५ असार ,वीरगञ्ज । मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मी पटेलले मधेस प्रदेशमा बोलिने भाषामा बुलेटिन प्रकाशन गर्नका लागि राष्ट्रिय समाचार समिति (रासस)लाई प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

राससको सहकार्य र आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामको आयोजनामा आजदेखि पर्साको वीरगञ्जमा सुरु भएको दुई दिने अभिमुखीकरणमा मन्त्री पटेलले मधेस प्रदेशमा बोलिने मैथिली र भोजपुरीलगायतका भाषामा बुलेटिन प्रकाशन गर्न सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताए । भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पटेलले राज्य र जनतालाई जोड्न राससले पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

जनताका विषय र समस्यालाई राससले प्राथमिकता दिनुपर्नेमा जोड दिदै उनले राससलाई सरकारी सञ्चारमाध्यमका रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी रहेको बताए । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई अन्तर्राष्ट्रिय स्तरको समाचार एजेन्सी बनाउने र डिजिटल प्रविधिमा लैजाने योजनाका साथ काम भइरहेको जानकारी दिए ।

लोकतन्त्र बलियो बनाउन सञ्चारमाध्यम सवल हुनुपर्ने भन्दै उनले राससलाई तीन वटै तहका सरकारको सहयोग आवश्यक भएको बताए । अध्यक्ष झाले निकट भविष्यमै राससले २४सै घण्टा सेवा प्रवाह गर्ने समेत जानकारी दिए । कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव उमेशकुमार ढकालले राससका समाचारहरु आधिकारिक हुने बताए ।

पत्रकारिताको विकासमा मधेस प्रदेश सरकार गम्भीर रहेको बताउदै उनले अगामी दिनमा पनि राससलगायतका सञ्चार संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । सामुदायिक रेडियो प्रसारक सङ्घका पूर्वमहासचिव गोविन्द देवकोटाले राससले समावेशी ढङ्गले सामग्री दिनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेले राससलाई शुल्क घटाउँदै ग्राहक सङ्ख्या बढाउन सुझाव दिए ।

मधेस प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले राससको महत्व र आवश्यकताबारे चर्चा गर्दै राससले धेरैभन्दा धेरै भाषामा सामग्री पस्किनुपर्नेमा जोड दिए । आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुखका प्रेस सल्लाहकार महेश दासले पत्रकारहरुको क्षमता अभिबृद्धिमा लगानी भइरहको भन्दै महानगरले आगामी आर्थिक वर्षमा राससका लागि बजेट बिनियोजन गर्ने समेत जानकारी दिए ।

सो अवसरमा राससमा कार्यरत समाचारदाता सत्यप्रसाद श्रेष्ठ, कार्यालय सहयोगी सूर्यप्रसाद बराल, पूर्वकर्मचारीहरु ईश्वरचन्द्र गौतम, हिमांशु चौधरी, प्रभाषचन्द्र झा र वीरेन्द्र कर्णलाई सम्मान गरिएको छ ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?