Trending
>>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल बन्न सकेन


३ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो ।

भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयल, परराष्ट्र मन्त्रालय हुँदै नेपालस्थित भारतीय राजदूतावासमा स्वीकृतिका लागि फाइल पठाइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार एक महिना अघि नै अनुमतिका लागि फाइल दूतावास पुगेको भए पनि अनुमति पाइएको छैन । उनले भने “भारत वा अन्य देशबाट विस्फोटक पदार्थ ल्याउन नो अब्जेक्सन लेटर भारतले दिनुपर्ने भएकाले फाइल दूतावास पुगेको छ ।”

सो सडकखण्डको तुईन खोलामा पुल निर्माणका लागि दुईपट्टी रहेका अग्ला पहाड काट्नुपर्ने बाध्यता थियो । योसँगै अन्य तीन वटा पुलको दुई तर्फका पहाड भत्काउने काम अघि बढाइएकामा तुईन खोलाको मुग्लिनतर्फको पहाड भने भत्काउन कठिन भएपछि काम रोकिएको प्रमुख कार्कीले बताए ।

सडकमा सवारीसाधन बन्द गरेर लामो समय काम गर्न कठिन भएकाले सो ठाउँको पहाड विस्फोट गराउने निर्णय गरिएको थियो । उनले भने “वर्षात् अघि अब विस्फोट गर्न सम्भव छैन । अनुमति लिएर असोजपछि काम गर्ने योजनामा छौंँ ।”

सो सडकमा रहेका १९ पुलमध्ये चार वटा यस अघि नै निर्माण गरिएका थिए । ठेक्का लगाइएका १५ पुलमध्ये १४ वटा निर्माणाधीन छन् । तीमध्ये तीन वटा असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अन्य आठ वटा पुल असोजभित्रमा र तीन वटा मङ्सिरभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तुईन खोलाको पुल भने भित्तो विस्फोट गराएपछि मात्रै काम सुरु गर्न सकिने भएको छ । काम थालेको चार–पाँच महिनामा सो पुल पनि निर्माण गर्न सकिने प्रमुख कार्कीले बताउनुभयो । तुईन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो कडा चट्टानको डाँडो थियो । डाँडाको आधा भाग काटिएको छ भने बाँकी कडा भाग विस्फोट गर्नुपर्ने भएको छ ।

आयोजनाका सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि समय एक वर्ष थप गरिएको हो । सो सडकका पुल अनक कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ती पुल निर्माणको लागत रु एक अर्ब २२ करोड हाराहारी छ ।

सो सडकमा यस अघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन् । पछिल्लो समय सडक फराकिलो बनाएसँगै पुल साँघुरा भएपछि निर्माण थालिएको हो ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?