Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

विरिङ नदीको पुल निर्माण अन्तिम चरणमा


३ असार ,झापा । हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको सो पुल चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताए ।

विसं २०६८ मै पुल निर्माण सुरु भएको हो । पुल निर्माण सुरुको १२ वर्षपछि बल्ल काम अन्तिम चरणमा पुगेको उनले बताए । सुरुमा ठेक्का लिएको ठेकेदार कम्पनीको लापारवाहीले पुल निर्माण ढिलो भएको उनको भनाइ छ ।

उनका अनुसार दुई वर्षअघि पुल निर्माणको काम पप्पु जेभीको पार्टनर महादेव खिम्तीले लिएको छ । उनले खोलामा पानीको बहाव छ महिनासम्म बढी हुने भएको कारण पुलको निर्माणमा ढिलाइ भएको बताए । “वर्षा सुरु हुनेबित्तिकै खोलामा पानीको बहाव बढ्छ । नदीमा पानी बढी भएको बेला काम गर्न सकिँदैन । वर्षमा छ महिनामात्र काम हुने हुँदा र ठेकेदारको ढिलासुस्तीले गर्दा झनै ढिलो भइरहेको छ ।”

इन्जिनियर खतिवडाले पुलको ९८ प्रतिशत काम सकिँदा भने वित्तीय प्रगति ७० प्रतिशतमात्र भएको बताए । राष्ट्रिय गौरवको आयोजना भएता पनि आर्थिक स्रोतको सुनिश्चित नहुँदा वित्तीय प्रगति कम भएको हो । उहाँले रु ३६ करोड बढीको लागतमा निर्माण भइरहेका पुलमाथि १९ वटा स्लाब लगाउनुपर्नेमा ११ लगाइसकिएको र बाँकी आठवटा लगाउने काम भइरहेको बताए ।

“विगतको तुलनामा ठेकेदार कम्पनीको काम अलि स्लो भयो”, उनले भने, “सकेसम्म असार मसान्त नभए पनि भदौ असोजदेखि पुलमाथिबाटै सवारी कुद्ने वातावरण बन्छ”, समयमै पुल नबन्दा प्रत्येक वर्ष वर्षात्को समयमा स्थानीयवासीले बाँसको टाटीको अस्थायी पुल बनाएर खोलाबाट आवतजावत गर्र्दै आएका छन् । उनले सो सडकमा पर्ने कनकाई नदी र रतुवा खोलामा समेत पुल निर्माणको काम धमाधम भइरहेको बताए ।

राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला साना नदी छन् । जसमध्ये कन्काई, विरिङ र रतुवा नदीबाहेक अन्यमा पुल निर्माणको कार्य सम्पन्न भइसकेको इन्जिनियर खतिवडाले जानकारी दिए ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?