Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

झोलुङ्गे पुलले फेरियो दैनिकी


३० जेठ, बागलुङ । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने संख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक दुई सय बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । स्थानीयले घाँस, दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय पनि हर्षित बनेका छन् ।

बुर्तिबाङ–बोङ्गादोभान सडक खण्डको माथिपट्टि निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने गरेको छ । गत वर्षसम्म वारपार गर्दा सास्ती भोग्दै आएका स्थानीयलाई यो पुल वरदान सावित भएको छ । वारि गाउँ र पारि खेतीयोग्य जमिन हुँदा स्थानीय वारपारमा निकै समस्या थियो । गत पुसमा निर्माण सुरु भएको पुल दुई महिनामै सम्पन्न भई चैतदेखि सञ्चालनमा आएको हो । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।

आफ्नो बारी खोलापारि र घरवारिपट्टि हुँदा काम गर्न जाँदा पनि धेरै समय लगाउनुपर्ने बाध्यता पुल निर्माण भएपछि टरेको स्थानीय तिलकुमारी कुँवरले बताइन् । हिउँदको समय जसोतसो खोला वारपार गरेर काम गरे पनि बर्खामा निकै समस्या भोग्दै आएको यस वर्षदेखि सहज हुने सुनाइन् । पुलले गाउँलेको दैनिकी नै फेरिएको उनको भनाइ छ ।

‘बर्खामा खोला उर्लिएर आउँछ, पारि बारीमा पुग्न धेरै समस्या थियो, वारि गाउँदेखि पारि गाउँ पुग्न बुर्तिबाङ बजारबाट चुरेलाबास हुँदै बारीमा पुग्नुपथ्र्यो, घर र बारी नजिकै भए पनि बीचमा खोला हुँदा धेरै अवरोध भएको थियो । भनेको बेलामा बारीमा पुग्न सकिँदैनथ्यो’, उनले भनिन्, ‘यहाँ पुल बनेपछि त हामी धेरै खुसी भएका छौँ, हाम्रो आधा समस्या समाधान भएको छ, अब त बारीमा तरकारी फलाएर उत्तिखेरै टिपेर ल्याउन सकिन्छ, पहिले त बारीबाट तरकारी लिएर आउन झण्डै दुई घण्टा लाग्ने गथ्र्यो ।’

स्थानीय कुलबहादुर नेपालीले अब खोला तर्दा कसैले ज्यान गुमाउन नपर्ने बताए । उनले पहिले खोला वारपार गर्दा धेरैले ज्यान गुमाएको स्मरण गरे । बुर्तिबाङ बजार नजिकै भए पनि यहाँ लामो समयसम्म पुल नबन्दा आफूहरूले खेतीपाती गरेर जीवन निर्वाह गर्न समेत गाह्रो भएको उनले बताए ।

स्थानीय नेपालीले भने, ‘पुल निकै छिटो बन्यो, हिउँदमा बाँसको फड्के बनाएर खोला तर्ने गथ्र्यौँ, त्यही फड्केबाट लडेर कतिले ज्यान गुमाए, फड्के नहुँदा भारीसँगै खोला तर्यौँ, नेताहरुलाई धेरै पटक यहाँ पुल बनाउनका लागि आग्रह गरेका थियौँ सुनेनन्, बल्ल पुसमा बजेट परेछ र अहिले पुल बन्यो, अब वारिपारि गर्न खोला तर्नुपर्ने छैन, पुल निकै लामो छ, त्यही भएर होला अहिले पुलमा धेरै मान्छे आउँछन् ।’


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?