Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गोलभेँडाको मूल्य नपाएपछि कृषक मारमा


२५ जेष्ठ ,कटारी । उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे । उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पाउन सकेका छैनन् ।

वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको छ । उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको गोलभेँडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिए । “उत्पादन पर्याप्त मात्रामा भएको छ, तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन्”, उनले भने, “हामीसँग चिस्यान केन्द्र पनि छैन । भण्डारण गरेर राख्न सक्ने अवस्था छैन ।”

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरेको छ । चिस्यान केन्द्र नहुँदा गोलभेँडा भण्डारण गरेर राख्ने र पछि उचित मूल्य पाएपछि बिक्री गर्ने अवस्था छैन । कृषक पुष्पराज खड्का गोलभेँडा उत्पादन भएकामा जति खुसी छन् त्यो भन्दा बढी उचित मूल्य नपाएकोमा दुःखी छन् । “प्रतिकिलो गोलभेँडा रु २० मा बिक्री गर्नुपरिरहेको छ”, उनले भने, “राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन ।”

कार्कीका अनुसार उक्त वडाको गोलभेँडा ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरिएको छ । “उत्पादन धेरै भएपछि बेच्न धनकुटासम्म पठायौँ”, कार्कीले भने, “केन्द्रले प्रतिकिलो रु तीन राखेर कृषकलाई दिँदा कृषकले मुश्किलले किलोको रु ३० सम्म पाउँछन् ।”

उत्पादन धेरै भए पनि यहाँबाट किनेर लैजाने व्यापारीले गोलभेँडाको उचित मूल्य नदिँदा कृषक मारमा परेका छन् । नगरपालिकाकै वडा नम्बर ३ र ४ मा रहेको बजारमा गोलभेँडा प्रतिकिलो रु ६० मा बिक्री भइरहेको छ । “व्यापारीले हामीलाई रु ३० भन्दा बढी दिँदैनन्”, उनले भने, “कृषकले लगानी अनुसारको मूल्य पाएका छैनन् ।”

वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटेलगायत गाउँमा गोलभेँडा पर्याप्त मात्रामा उत्पादन भएको छ । यसअघि अदुवा, काउली र डल्ले खुर्सानी उत्पादन गरेका कृषकले दुई वर्षयता गोलभेँडा खेतीलाई प्राथमिकता दिँदै आएका छन् । उत्पादन बढ्दै गएपनि कृषकले बजारसम्म गोलभेँडा पुर्याउन सकेका छैनन् ।

वडाले कृषकको समस्यालाई नगरपालिकासामु राखेको वडाध्यक्ष हायुले बताए । बजारमा भारतबाट आयात गरिएको गोलभेँडा सस्तोमा बिक्री भएका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो । स्थानीय उत्पादन बजारीकरण गर्न तथा भण्डारण गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने कृषकको माग छ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?