Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

गोलभेँडाको मूल्य नपाएपछि कृषक मारमा


२५ जेष्ठ ,कटारी । उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे । उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पाउन सकेका छैनन् ।

वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको छ । उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको गोलभेँडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिए । “उत्पादन पर्याप्त मात्रामा भएको छ, तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन्”, उनले भने, “हामीसँग चिस्यान केन्द्र पनि छैन । भण्डारण गरेर राख्न सक्ने अवस्था छैन ।”

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरेको छ । चिस्यान केन्द्र नहुँदा गोलभेँडा भण्डारण गरेर राख्ने र पछि उचित मूल्य पाएपछि बिक्री गर्ने अवस्था छैन । कृषक पुष्पराज खड्का गोलभेँडा उत्पादन भएकामा जति खुसी छन् त्यो भन्दा बढी उचित मूल्य नपाएकोमा दुःखी छन् । “प्रतिकिलो गोलभेँडा रु २० मा बिक्री गर्नुपरिरहेको छ”, उनले भने, “राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन ।”

कार्कीका अनुसार उक्त वडाको गोलभेँडा ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरिएको छ । “उत्पादन धेरै भएपछि बेच्न धनकुटासम्म पठायौँ”, कार्कीले भने, “केन्द्रले प्रतिकिलो रु तीन राखेर कृषकलाई दिँदा कृषकले मुश्किलले किलोको रु ३० सम्म पाउँछन् ।”

उत्पादन धेरै भए पनि यहाँबाट किनेर लैजाने व्यापारीले गोलभेँडाको उचित मूल्य नदिँदा कृषक मारमा परेका छन् । नगरपालिकाकै वडा नम्बर ३ र ४ मा रहेको बजारमा गोलभेँडा प्रतिकिलो रु ६० मा बिक्री भइरहेको छ । “व्यापारीले हामीलाई रु ३० भन्दा बढी दिँदैनन्”, उनले भने, “कृषकले लगानी अनुसारको मूल्य पाएका छैनन् ।”

वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटेलगायत गाउँमा गोलभेँडा पर्याप्त मात्रामा उत्पादन भएको छ । यसअघि अदुवा, काउली र डल्ले खुर्सानी उत्पादन गरेका कृषकले दुई वर्षयता गोलभेँडा खेतीलाई प्राथमिकता दिँदै आएका छन् । उत्पादन बढ्दै गएपनि कृषकले बजारसम्म गोलभेँडा पुर्याउन सकेका छैनन् ।

वडाले कृषकको समस्यालाई नगरपालिकासामु राखेको वडाध्यक्ष हायुले बताए । बजारमा भारतबाट आयात गरिएको गोलभेँडा सस्तोमा बिक्री भएका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो । स्थानीय उत्पादन बजारीकरण गर्न तथा भण्डारण गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने कृषकको माग छ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?