Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शुक्लाफाँटामा खानेपानी समस्या हट्दै


२३ जेठ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन् । वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै आएका बासिन्दाले आइरनको समस्या झेल्दै आएका छन् । खानेपानीको हेन्डपम्पमा आइरन आउँदा पत्थरीलगायतको समस्या अधिकांश बासिन्दामा देखिँदै आएको स्थानीय गौरसिंह साउदले बताए ।

“खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि वर्षौंदेखिको शुद्ध पेयजल पिउने सपना साकार हुने भएको छ”, उनले भने । वडमा नगरको गौरवको योजनाअन्तर्गत रु छ करोड आठ लाख ९८ हजार आठ सय ६९ को लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । नगरपालिकाका इञिजनियर दिपक धामीका अनुसार निर्माण भइरहेको खानेपानी आयोजनामा नगरपालिका र सङ्घीय सरकारको ५०÷५० प्रतिशत लागत साझेदारी रहेको छ ।

खानेपानी आयोजना निर्माणका लागि उच्चकोटी ड्रिल एन्ड कन्ट्रक्सन प्रालि धनगढीले जिम्मा पाएको छ । आयोजना आगामी आवको असार १८ गते भित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाका लागि दुई सय २५ घनमिटरको टङ्की निर्माण गरिने निर्माण व्यवसायी सुरेन्द्रकान्त पन्तले बताए ।

“निर्धारित समयअगावै खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य लिएका छौँ”, उनले भने, “सम्झौताअनुसार उपभोक्ता घरसम्म पाइप जडानदेखि धाराको टुटी जडान गर्छौं ।” खानेपानी आयोजनाका लागि २७ हजार मिटर पाइपलाइन विस्तार गर्ने योजना रहेको छ ।

खानेपानी आयोजनाका लागि बोरिङ गाडनका लागि ड्रिल गर्ने कार्य अगाडि बढाइएको छ । खानेपानी सञ्चालनका लागि डेढ तले कार्यालय भवन र पर्खाल निर्माण गरिने निर्माण व्यवसायी पन्तले बताए । खानेपानी आयोजनाबाट लक्ष्मीपुर, ढकनियाँ र रानीपुरका गरी पाँच सय ८५ घरधुरी लाभान्वित हुने भएका छन् ।

नगर प्रमुख रणबहादुर महराले खानेपानी आयोजना निर्माणको शुभारम्भ गर्दै नगरको गौरवको योजनाअन्तर्गत खानेपानी आयोजनालाई राखिएकाले निर्धारित समयमै निर्माण पूरा गरिनुपर्ने बताए ।

वडावासीको मागअनुसार शुद्ध पेयजल घरघरमा पु¥याउने सपना साकार बनाउनका लागि आयोजना निर्माणलाई दु्रत गतिमा अगाडि बढाइएको उनले बताए । “खानेपानी आयोजना निर्माणको पूरा भएपछि आइरन र आर्सेनिकको समस्या हटेर जान्छ”, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, “शुद्ध पेयजल उपलब्ध हुने भएपछि वडाका बासिन्दा पानीजन्य रोगबाट पनि मुक्त हुन्छन् ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले खानेपानी आयोजना निर्माणलाई छिटोभन्दा छिटो पूरा गरी वडाका बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउन आतुर रहेको बताए । यसअघि गैरसरकारी संस्थाको सहयोगमा वडामा सिँचाइका लागि ३० डिपट्युबवेल जडान गरिएको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?